महिला प्रधानमन्त्री हुने दिन धेरै टाढा छैन : मन्त्री रेग्मी

‘हमाल कांग्रेसका पुरानो नेता भएकाले मन्त्री बनाइएको हो, कसैको नाता पर्नु अस्वभाविक होइन’


२३ आश्विन २०७८, शनिबार
Uma Regmi

काठमाडाैं, २३ असोज । नव नियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिएको स्पष्ट पारेकी छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री रेग्मीले भनिन्, ‘हमालजी हाम्रो पार्टीको पुरानो नेता हो । उहाँले अवसर पाउनु भएको थिएन । कसैको नाता पर्न जानु अस्वाभाविक होइन । उहाँँले पार्टीलाई पुर्‍याउनु भएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको हो ।’

मन्त्री रेग्मीले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीय रूपमा हुनु सकारात्मक भएको उल्लेख गर्दै हरेक ठाउँमा एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सकिएमा नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो देशमा महिला राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश हुनुभयो । अब प्रधानमन्त्री हुन पनि महिला सक्षम छन् ।’ उनले पार्टीको आगामी १४ औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गरिन् ।

मुलुकमा बढ्दो महिला हिंसाका घटनाप्रति आफू अत्यन्त गम्भीर रहेको बताउँदै उनले ज्येष्ठ नागरिकले घरमा ससम्मान बाँच्न सक्ने तुल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विदेशमा अपांगता भएका व्यक्तिको जिम्मा राज्यले लिएको उल्लेख गर्दै मन्त्री रेग्मीले नेपालमा पनि उनीहरूको अधिकार प्राप्तिका लागि ध्यान दिने बताइन् ।

उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितका लागि खोपको व्यवस्था गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताइन् ।

अहिले पनि देशका दूरदराजमा रहेका बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरूको जीवनरक्षा र पढ्न पाउनुपर्ने अधिकारको रक्षाका लागि पनि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७