समय आएपछि मात्रै निर्वाचन : प्रचण्ड

‘सरकारले पूर्णता नपाउँदै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शंका थियो, त्यो हिजै टर्‍यो’


२३ आश्विन २०७८, शनिबार
Prachanda 2

चितवन, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन् । उद्योग सङ्घ चितवन शाखाको ३० औं साधारणसभा एवं १६औं अधिवेशन आज (शनिबार) उद्घाटन गर्दै उनले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताएका हन् ।

‘सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शंका थियो । हिजोदेखि दुर्घटना टर्‍यो’, पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु । सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौं ।’

देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उनले जोड दिए, ‘नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ । राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ ।’

अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुले देख्नु भएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौं । यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।’ निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीव्र आर्थिक विकास गर्नुपर्ने भन्दै उनले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिए ।

कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो । उनले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि पाँच करोड रूपैयाँ बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताए ।

उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजु श्रेष्ठले निजी क्षेत्रको समस्याका बारेमा अवगत गराएका थिए भने प्रदेशसभा सदस्य कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ लगायतले समसामयिक विषयमा चर्चा गरेका थिए । सङ्घको आजै नयाँ नेतृत्व चयन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७