आठ महिनापछि भारतबाट आयो खरिद गरेको १० लाख खोप


२४ आश्विन २०७८, आईतवार
korona khop 1

काठमाडौं, २४ असोज । सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ ।

सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदका लागि सम्झौता भएको थियो ।

सरकारको पटक–पटकको पहलपछि शनिबार बाँकी १० लाख खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । सम्झौताकै समयमा सरकारले चार डलरका दरले अग्रिम भुक्तानी गरेको थियो । भारतबाट आएका दश लाख डोज खोप दसैँपछि लगाउने सरकारको तयारी छ ।

९ माघ ०७७ मा भारतले नेपाललाई दश लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतबाट दश लाख अनुदान, दश लाख खरिदको, नेपाली सेनालाई एक लाख सहयोग र कोभ्यास सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । तर, खरिद गरेको खोप आउन ढिला भएपछि सरकारलले अन्य देशसँग सहयोग मागेको थियो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिएको थियो ।

त्यस्तै, भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप प्राप्त भएको थियो । अहिलेसम्म पूर्ण खोप लगाउने ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेका छन् । पहिलो डोज लगाएका संख्या ८१ लाख २७ हजार दुई सय ६२ जना पुगेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७