मान्छे ‘पासो’ लागेको डोरी करोडौंमा बेच्ने भन्दै सुनाकोठीमा महिलाको हत्या

हत्यामा संलग्न तीन जनालाई प्रहरीले गर्‍यो सार्वजनिक


२४ आश्विन २०७८, आईतवार
Woman murder lalitpur 04bRyf78A2

काठमाडौं, २४ असोज । काठमाडौं उपत्यकाभित्रै एक अनौंठो हत्याको घटना बाहिर आएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा कमला तामाङको हत्या भएको छ । नुवाकोट घर भएकी ४५ वर्षीया कमलाको शव भदौ २५ मा बिहान फेला परेको थियो । टहरोमा एक्लै बस्दै आएकी कमलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर छन् । महानगरीय अपराध महाशाखाले भदौ २५ गते बिहान भएको उक्त हत्याकाण्डमा संलग्न तीन जनालाई असोज २१ र २२ गते पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरुले योजनाबद्ध रुपमा कमलाको हत्या गरेको खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । कमलाको हत्या गरेको भोलिपल्ट बिहान उनीहरुले नुहाइ धुवाई गरेर पासोलाई पूजा गरे । मान्छे मार्न प्रयोग भएको पासो ऐनामा नदेखिने भ्रम उनीहरुलाई थियो । ‘ऐनामा पासो देखिएपछि सो डोरी काम नलाग्ने रहेछ भन्दै उनीहरुले कूलोमा बगाएको अनुसन्धानबाट खुल्न आएको छ’ एसएसपी खापुङले भने, ‘घटनाबारे थप अनुसन्धान गर्दैछौं ।’

प्रहरीका अनुसार उनीहरु तीनै जनाले अन्धविश्वासमा परेर कमलाको हत्या गर्ने योजना बनाएको खुलेको छ । हत्यामा संलग्नमध्ये सविनले मान्छे मर्न वा मार्न प्रयोग भएको डोरी, राम–लक्ष्मण र हनुमानको तस्विर अंकित पुरानो सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगा लगायत करोडौं रुपैयाँमा विक्री हुने कुरा सुनेपछि उक्त हत्या योजना बनेको खुलेको छ ।

चापागाउँ वृत्तका सविनले उक्त कुरा साथी सुमन मगरलाई सुनाएपछि कमलाको हत्या योजना बनाएको खुलेको चापागाउँ प्रहरी वृत्तका डिएसपी टेकबहादुर कार्कीले बताए । ‘उक्त हत्या योजना सविन, सुमन र प्रविना बसेर बनाएको देखियो’, उनले भने, ’मृतक कमला र सुमन मगरबीच पुरानो परिचय रहेछ ।

मृतकको टहरामा उनी आउने जाने गरिरहेको पाइयो । मादक पदार्थ र खानपिन पनि सँगै गर्ने गरेको आधारमा उनैले कमलाको हत्या योजना बनाएको भेटियो ।’ तीनै जना बसेर मानिसलाई डोरीको पासोमा झुण्ड्याएर मारेर उक्त डोरी करोडौंमा विक्री गर्ने योजना बनाएको पनि अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७