बागमती सरकार फेरिने निश्चित, राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्दै


२४ आश्विन २०७८, आईतवार

हेटौंडा, २४ असोज । स्पष्ट अल्पमतमा परेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार) दिउँसो विश्वासको मत लिंदैछिन् । त्यसका लागि प्रदेशसभाको बैठक बस्दैछ । तर, प्रदेशसभाबाट मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना भने कम छ ।

विश्वासको मत नपाए मुख्यमन्त्री शाक्य पद च्युत हुनेछिन् । शाक्य २ भदौमा एकल बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । तर, एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

बागमती प्रदेशसभामा १०९ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ सांसद छन् । हाल विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीका एक सासद छन् । विपक्षी गठबन्धनसँग सरकार बनाउन पुग्ने संख्या छ ।

विपक्षी गठबन्धनका दलहरूले मुख्यमन्त्री शाक्यको सरकार ढालेर नयाँ सरकार बनाउने बताइसकेका छन् । यस्तै तीन सांसद रहेको विवेकशील साझा पार्टीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित

बागमतीमा स्पष्ट बहुमतसहित सरकार चलाउँदै आएको एमाले सरकारबाट बाहिरिने निश्चित छ । पार्टी विभाजनसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन । सरकार बनाउन ५५ मत आवश्यक पर्छ भने एमालेसँग जम्मा ४३ मत मात्रै छ ।

५६ मतसहित सरकारको नेतृत्व गरिरहेको एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि सरकार ढल्ने निश्चित भएको हो । साना दलको समर्थन खोजे पनि एमालेले सरकार टिकाउन नसक्ने अंक गणित छ । एमालेलाई समर्थन गर्न सक्ने दल राप्रपा र नेपाल मजदुर किसान पार्टीसँग २–२ जना सांसद छन् ।

जुन मतले शाक्य नेतृत्वको सरकार टिक्दैन् । सरकार जोगाउन शाक्यलाई १२ मत आवश्यक पर्छ । ३ सांसद रहेको विवेकशील साझा पार्टीले यसअघि नै शाक्यलाई समर्थन नगर्ने जनाइसकेको छ । एक स्वतन्त्र सांसद पनि गठबन्धन निकट रहेका छन् ।

तीन वर्षअघि २९ माघमा बागमतीको मुख्यमन्त्रीमा डोरमणि पौडेलले नेतृत्व गरेका थिए । तत्कालीन नेकपाबाट पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा बागमती प्रदेश सरकार गठन भएको थियो । पौडेलले गत २ भदौमा पार्टीको एकता कायम राख्न भन्दै शाक्यलाई मुख्यमन्त्री बनाएर सरकारबाट बाहिरिएका थिए ।

राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का

केन्द्रमा सत्ता गठबन्धनबीच भएको सहमति अनुसार बागमती प्रदेशमा एकीकृत समाजवादीले सरकारको नेतृत्व लिने छ । एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्ने छन् । एकीकृत समाजवादीका बागमती प्रदेशकी प्रमुख सचेतक मुनु सिग्देलले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने गठबन्धनमै सहमति भइसकेको बताइन् ।

‘बागमतीमा एकीकृत समाजवादीबाट राजेन्द्रजी सरकारको नेतृत्व गर्नुहुन्छ । कांग्रेसले मुख्यमन्त्री मागेको मात्रै हो । कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरामा सत्यता छैन्,’ सिग्देलले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७