जनहितमा काम गर्न नव नियुक्त मन्त्रीहरूलाई अध्यक्ष नेपालको निर्देशन


२४ आश्विन २०७८, आईतवार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं, २४ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमानदारी र कर्तव्यनिष्ठका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि मन्त्रीहरूलाई सचेत गराएका छन् ।

‘तपाईंहरूले इमानदारीका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । इमानदारी र कर्तव्यनिष्ठको भावनालाई सर्वोपरि राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईंहरूको ध्यान म आकर्षित गर्न चाहन्छु । काम गर्दाखेरि राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मेवारी तपाईंहरूले सम्हालिरहनु भएको छ, त्यो संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दुमा राखेर तपाईंहरूले काम गर्नुहुनेछ । यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईंहरूले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ,’ उनले भने ।

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिए । पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न पनि उनले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७