पक्राउ परेकी रुवीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


२४ आश्विन २०७८, आईतवार
rubi khan ZUw7jWB3v1

काठमाडौं, २४ असोज । धर्नाका क्रममा काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरको नाममा कारण देखाऊ आदेश जारी गर्दै खानलाई २४ घण्टाभित्र स–शरीर उपस्थित गराउन आदेश दिएको हो ।

बाँकेका दुई महिलाको हत्यारालाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बाँकेबाट २० दिन पैदल हिँडेर काठमाडौं आएका रुवीसहितका महिलाले माइतीघरमा धर्ना दिँदै आएका छन् । धर्नाका क्रममा अस्ति शुक्रवार बेलुकी प्रहरीले नेपालगञ्जकी रुवी खानलाई पक्राउ गरेको थियो ।

खानको अवस्थाबारे जानकारी नदिइएपछि अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि आफन्त र अधिकारकर्मीले आज (आइतबार) पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जबाट २० दिनसम्म हिंडेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य र काठमाडौंमा रहेका अधिकारकर्मीले माइतीघरमा धर्ना दिएका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन् । नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै उनीहरू काठमाडौं आइपुगेका छन् । धर्नामा बसेकी आप्दा धोबीले काठमाडौं आएको पाँच दिनसम्म पनि सरकारले आफ्ना माग नसुनेको भन्दै माग पूरा नहोउञ्जेलसम्म धर्ना जारी रहने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७