गोर्खाहरुलाई फेरि अभिनेत्री जोआना लुम्लीको साथ
जोआनाका पितालाई दोस्रो विश्युद्धमा भिसी तुलबहादुर पुनले बचाएका थिए
राजेश राई
काठमाडौं २६ फागुन : चर्चित ब्रिटिश अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्ली आन्दोलनरत गोर्खाहरुको माग सम्बोधनका लागि फेरि सक्रिय भएकी छिन् । ‘डटर अफ गुरखाज’को रुपमा गोर्खाहरुले सम्मान गर्दे आएको जोआनाले भूतपूर्व गोर्खा सैनिकहरुमाथि गरिएको विभेद अन्त्यको लागि ब्रिटिस सरकारलाई दबाब दिन सुरु गरेकी हुन् ।
२००९ मा गोर्खा अभियान्ताको रुपमा उत्रेर आन्दोलनको नेतृत्व गरेकी जोआना फेरि सार्वजनिक रुपमा गोर्खाहरुको पक्षमा खुलेकी छिन् । अभिनेत्री जोअनाले बीबीसीसँग भनेकी छिन्,‘मैले सँधै अनुभूत गरेकी छु कि ब्रिटिश सैनिकहरुसंगै लडने नेपाली, गोर्खा सैनिकहरु हरेक दृष्टिकोणले समान छन् । उनीहरुलाई समान व्यवहार गरिनुपर्छ ।’ गोर्खाहरुले आफ्ना मागहरु सहित एकीकृत रुपमा आन्दोलन र अभियान जारी राखेका छन् । २०४६ साल यता अभियानरत गोरखा भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) र बिभिन्न समुह मिलेर बनेको ‘संयुक्त संत्याग्रह संघर्ष समिति’ले अभियान जारी राखेको हो । यो अभियानमा पछिल्लो पटक भोक हड्ताल बसेका अभियान्ता ज्ञानराज राई पनि छन् ।
पछिल्लो समयमा गोर्खाहरुको समस्या समधानको लागि गोर्खाहरु, बेलायती सरकार र बेलायतस्थित नेपाली राजदूताबासबिच त्रिपक्षीय छलफल जारी छ । यही क्रममा आगमी चैत्र १६ गते (मार्च २९ तारिख) गोर्खा, बेलायतस्थित नेपाली राजदुतका अधिकारी र ब्रिटिस सरकारका उच्च अधिकारीहरुबिच छलफल हुदैछ ।
यही छलफलको पूर्व सन्ध्यामा अभिनेत्री जोअनाले दिएको अभिव्यक्तिलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । स्रोतका अनुसार जोअनाले गोर्खाहरुको माग सम्बोधनका लागि सक्रियता बढाएकी छिन् । जोअनाले गोर्खा सैनिक र ब्रिटिस सैनिकहरुलाई समान व्यवहार गर्नु पर्नेमा जोड दिएकी छिन् । उनले भनेकी छिन्,‘मैले सन् दुई हजार नौ देखि, गोर्खा सैनिकहरुको आवासीय अधिकारकालागि अभियान चलाउँदा देखिनै, यो विषयबारे थाहा पाएकी हुँ । मैले सँधै अनुभूत गरेकी छु कि ब्रिटिश सैनिकहरुसंगै लडने नेपाली, गोर्खा सैनिकहरु हरेक दृष्टिकोणले समान छन् र उनीहरुलाई समान व्यवहार गरिनुपर्छ ।’
जोअनाले गोर्खाहरुको समस्या समधानका लागि ब्रिटिस सरकारलाई गम्भिरता प्रकट गर्न आग्रह समेत गरेकी छिन् । उनले भनेकी छिन्,‘पहिले पेन्सनको रकम निश्चित थियो किनभने सन् दुई हजार नौ भन्दा अघि सेवा निवृत्त भएपछि गोर्खा सैनिकहरु नेपाल फर्कन्थे र उनीहरुलाई बाँच्नका लागि कम रकम चाहिन्छ भन्ने तर्क गरिन्थ्यो। तर अहिले स्थिति फरक छ, उनीहरु यहीं बस्छन् । मैले म ब्रिटिश सरकार र रक्षा मन्त्रालयलाई साहसीहरुमध्येमा पनि सबैभन्दा साहसी गोर्खा सैनिकहरुको यतिबढी तनाव र चिन्ताको कारण बनेको यो समस्याकाबारे सहानुभूतिपूर्वक विचार गर्न आग्रह गर्दछु।’
को हुन् जोअना ?
सन् १९४६ मा भारतको जम्बुकास्मीर स्थित श्रीनगरमा जन्मीएकी हुन् । उनको बुवा मेजर जेम्स रुदरफोर्ड लुम्ले छैटौ गोर्खा राइफल्सका मेजर थिए । ब्रिटिस सेनाका मेजर जेम्स रुदरफोर्ड लुम्ले सैनिक सेवाको क्रममा परिवार सहित जम्बु कास्मिर पुगेको बेला उनको जन्म भएको हो । उतिबेला भारत ब्रिटिसको उपनिवेश थियो । दोस्रो विश्वयुद्ध चलिरको समय १९४४ उनका बुवालाई गोर्खाहरुले बचाएका थिए । त्यसबेला उनी आमाको गर्भमा आएकी थिइनन् । उनले भन्ने गरेकी छिन्,‘मेरो बुवालाई गोर्खाहरुले नबचाएको भए मेरो जन्म सम्भव थिएन ।’
मार्च १९४४ मा बर्माको मोगाउङ क्षेत्रमा भारत हान्ने तयारी गरिरहेको जापानी सेनालाई पछाडि हटाउने ९००० सैनिक सम्मिलित दोस्रो चिन्दित अप्रेशनमा छैटौं गोर्खा राइफल्स पनि संलग्न थियो । उनको बुवा त्यसको कमाण्डर थिए । तर, जापनीहरुले छैटौं गोर्खा राइफल्सलाई अघि बढ्न दिएन । छैटौं गोर्खाले २३ जून १९४४ को राति रेल्वेपुलको जापानी पोष्टमा आक्रमण गर्यो । जापनीहरुलाई आक्रमण गर्न साथ जोआना लुम्लेका पिता मेजर जेम्स रुदरफोर्ड लुम्लेको कमाण्डमा रहेको टोलीले आक्रमण गर्नासाथ ‘रेड हाउस’ भनिने पोष्टबाट गरेको आक्रमणले गोर्खाहरु धमाधम मारिए । सिपाही तुलबहादुर पुनको सेक्सनमा रहेका सबै गोर्खालीहरू उज्यालो नहुदै मारिए ।
छैटौं गोर्खा राइफल्सका सबै मारिने सम्भावना बढेपछि पुन गोलीको वर्षाबीच घुँडासम्म आउने हिलो, ढलेका रूख र काँडेतार छिचोल्दै बिरालोको चालमा ‘रेड हाउस’मा पुगे जहाँ आठ जापानी निरन्तर मेसिनगनको घोडी दबाइरहेका थिए । उनले सबैलाई गएर मारीदिए । यदि पुनले त्यही मेसिनगनबाट ‘कभर फायर’ नखोलेको भए छैटौं गोर्खा राइफल्सका त्यो मिसनका सबै सेनाहरु मारिने थिए । जोआना लुम्लेका पिता मेजर जेम्स रुदरफोर्ड पनि मारिने निश्चित थियो । यही कारण गोर्खाहरुप्रति जोअनाको गहिरो सम्मान छ । यही युद्धको कारण ३ मार्च १९४५ मा दिल्लीको लालकिल्लामा आयोजित समारोहमा पुनलाई भाइसराय तथा फिल्डमार्सल वाभेलले बेलायतको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस (भिसी) प्रदान गरेका थिए ।
गेसोले आन्दोलन गरीरहेको बेलामा भिसी पुनले बेलायत जाने अनुमती नपाएको समाचार बाहिर आएको थियो । त्यसपछि जोअना आक्रमक भएर आन्दोलनमा लागेकी थिइन् । उनको सहभागिता नभएको भए २००९ मा गोर्खाहरुले त्यो उपलब्ध प्राप्त गर्न असम्भव जस्तै थियो । गेसोको अभियानमा जोअनाले साथ दिएपछि ब्रिटिस सरकार उनीहरुको तत्कालिन माग सम्बोधन गर्न तयार भएको थियो । २००९ मा गोर्डन ब्राउन नेतृत्वको तत्कालिन ब्रिटिश सरकारले ब्रिटिश सेनामा कम्तीमा चारवर्ष सेवा गरेका तथा सन् १९९७ अघि सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई ब्रिटेनमा आएर बसोबास गर्न अनुमति दिएको थियो । जोअनाले अभियान चलाएर लुम्लेले नेपालका भूकम्प प्रभावितका लागि ८ अर्ब सहयोग समेत गरेकी थिइन् ।
गोर्खाहरु उत्साही
आउँदो चैत्र १६ गते (मार्च २९ तारिख) बेलायतमा त्रिपक्षीय वार्ता हुदैछ । वार्ताको पूर्ब सन्ध्यामा जोअना सक्रिय भएपछि गोर्खाहरु उत्साही छन् । गेसोको सभापति कृष्णकुमार राईले भने,‘हामी उत्साही छौं ।’ गोर्खाहरुले सन् १९९७ अघि सेवा निवृत्त भएका भूपू सैनिकहरुलाई ब्रिटिश सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति, अठार बर्ष नाघेका छोराछोरीलाई पनि बेलायत ल्याउन पाउनुपर्ने, नेपालमै रहेका भूपू गोर्खा र तिनका परिवारलाई औषधिउपचारको प्रबन्ध लगायतका मागहरु रहेका राखेका छन् ।
पछिल्लो समया यो मागप्रति ब्रिटिस सरकार सकरात्मक बनेको गेसो सभापति राई बताउँछन् । गोर्खाहरुको माग बिषयमा सबै सकरात्मक रहेका कारण माग सम्बोधन हुनेमा विश्वस्त छन्, संत्याग्रह सयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राई ।
यही सन्दर्भमा बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टर गत ९ फेब्रुअरी देखी १४ सम्म नेपाल भ्रमण गरेका थिए । मन्त्री कास्टर गोर्खा सैनिकहरुले उठाएका मुद्दाहरुको बिषयमा जानकार मन्त्री हुन् । २९ मार्च २०१७ मा गोर्खा, नेपाली राजदूताबास र बेलायत सरकारविच भएको त्रिपक्षीय वार्तामा उनी सहभागी थिए । उनले वार्तामा गोर्खाहरुको मागको बारेमा ध्यान पूर्वक सुनेका थिए ।
प्रधानमन्त्री ओलीसँग आशावादी गोर्खाहरु
नेकपा (एमाले) अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खाहरुको बिषयलाई गम्भिरताको साथ लिएको भन्दै गोर्खाहरु उत्साही छन् । गत १ फागुन २०७४ मा मन्त्री मार्क ल्यानकाष्टरले ओलीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा अध्यक्ष ओलीले भूतपूर्व गोर्खा सैनिकहरुको माग र समस्याको बिषयमा चासो राखेका थिए । बेलायती रक्षामन्त्रीलाई ओलीले सोधेका थिए, ‘गोर्खाहरुमाथिको विभेद कहिले अन्त्य हुन्छ ?’
ओलीको चासोपछि राज्यमन्त्री ल्यानकाष्टरले नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गरे । बेलायती सेनामा काम गर्ने पूर्व गोर्खा सैनिकको पेन्सन सुविधा बारेमा गठन गरिएको संयुक्त प्राविधिक टोलीले गरिरहेको कामको प्रगति बारेमा अध्यक्ष ओलीलाई राज्यमन्त्री ल्यानकाष्टरले जानकारी गराए । त्यसअघि अघिल्लो दिन गेसो सभापति कृष्णकुमार राईको टोलीले ओलीलाई भेटेर आफ्ना मुद्दाका बारेमा जानकारी गराएका थिए । आफू प्रधानमन्त्री भएपछि यो समस्या समधानको लागि गम्भिरताको साथ लाग्ने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री ओली गोर्खाहरुको मुद्दाको बिषयमा जानकार नेता हुन् । परराष्ट्रमन्त्री भएको बेला पनि उनले यो मुद्दालाई चासोका साथ उठाएका थिए । गेसो टोलीसँगको भेटमा पनि उनले गोर्खाहरुको इतिहास, समस्या र कदम बारेमा लामो व्याख्या गरेका थिए । ओली प्रधानमन्त्री भएको बेला समस्या समधान हुनेमा आफूहरु आशावादी रहेको गेसोका सभापति राई बताउँछन् । भन्छन्,‘दुई सय बर्षअघिको हाम्रो समस्या उहाँ प्रधानमन्त्री भएको बेला समधान हुनेमा हामी आशावादी छौं । यो हाम्रो लागि र राष्ट्रको कार्यकारी प्रमुख भएको कारण उहाँको लागि पनि ऐतिहासिक अवसर हो ।’