धोबी र कुर्मीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही हुन्छ : गृहमन्त्री


२४ आश्विन २०७८, आईतवार
Balkrishna khad 1

काठमाडौं, २४ असोज । गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताए ।

आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीले घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भीर छौं । जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरूको रक्षाका लागि सरकार गम्भीर छ । घटनाको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’

गृहमन्त्री खाणले सरकार महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दाबी समेत गरे । त्यसक्रममा महिला अधिकारकर्मीले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनु परेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७