मोतीपुरमा प्रहरीको गोली लागेर चार जनाकाे मृत्यु, ४९ सुरक्षाकर्मी घाइते

अनिश्चितकालीन कर्फ्यु जारी


२५ आश्विन २०७८, सोमबार
thumb 8

बुटवल, २५ असोज । रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा आइतबार प्रहरी र स्थानीयबीच भएको झडपमा परेर ४९ जना प्रहरी घाइते भएका छन् ।

उद्योगको जग्गा कब्जा गरी बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा चार जना सर्वसाधारणले ज्यान गुमाएको घटनामा ४९ जना सुरक्षाकर्मी घाइते भएका हुन् । घटनामा कयौं सर्वसाधारण पनि घाइते भएका छन् ।

झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । घटनामा नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरीका १९ जना घाइते भएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

सर्वसाधारणको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीका एसपीसहित १९ जना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, हवल्दार डिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तिलबहादुर धामी, रुद्रबहादुर शाही, जनकराज जोशी, रबिन्द्र कुमार गौड र चुमानसिंह थापा जवानहरु सन्तोष बस्नेत, इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त जिसी, लोकनाथ खनाल, गणेश रावत, प्रेम बिक, सुरज दयाल र कृष्णबहादुर थापा घाइते छन् ।

सुरक्षाकर्मीमाथि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्नुका साथै पेट्रोल बम समेत प्रहार गरेका थिए । झडपका क्रममा प्रदर्शनकारीले असई विमला विश्वकर्मालाई केही घण्टा नियन्त्रणमा लिएर छाडेका प्रहरीले जनाएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतवार अपरान्ह झडप भएको थियो । झडपपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

प्रहरीको गोली लागेर ज्यान गुमाउनेमध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियारको मात्रै सनाखत भएको छ । बाँकी मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७