मेसीको गोलमा अर्जेन्टिनाको सहज जीत


२५ आश्विन २०७८, सोमबार
messi1633919302

काठमाडौं, २५ असोज । लियोनल मेसीले गोल गरेको दिन अर्जेन्टिनाले आज बिहान दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा उरुग्वेमाथि ३–० को विजय हासिल गरेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेसीले यसअघिको अन्तर्राष्ट्रिय ‘ब्रेक’ मा पेलेको कीर्तिमान तोडेका थिए । दक्षिण अमेरिकी फुटबलमा पेलेको नाममा सबैभन्दा धेरै ७७ गोल गर्ने कीर्तिमान थियो । मेसीले अर्जेन्टिनाको जर्सीमा ८० गोल गरिसकेका छन् । उनले बेलिभियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै पेलेको कीर्तिमान तोडेका थिए ।

अर्जेन्टिनाबाट सबैभन्दा धेरै गोल गर्ने मेसीले ३८ औं मिनेटमा गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा रोड्रिगो डी पाउलले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले सहज विजय हासिल गरेको हो ।

जितपछि अर्जेन्टिनाले छनोट प्रतियोगितामा शीर्ष स्थानको ब्राजिलसँग अंकदुरी घटाएको छ । ब्राजिल २८ अंकका साथ शीर्ष स्थानमा रहँदा अर्जेन्टिना २२ अंकका साथ दोस्रो स्थानमा छ । ब्राजिले आजै कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो । उरुग्वे १६ अंकका साथ चौथो स्थानमा छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष चार टोलीले कतारमा अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनेछन् । एक टोलीले प्लेअफ खेल्नेछ । दक्षिण अमेरिकामा दश टोलीले राउन्ड रोबिन प्रणालीमा छनोट प्रतियोगिता खेल्ने छन् । अर्जेन्टिना पेरुविरुद्ध खेल्ने छ । उरुग्वेले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । पेरु आज बेलिभियासँग १–० ले पराजित भयो । चिलीले पाराग्वेलाई २–० ले हराउँदा भेनेजुएलाले इक्वेडरलाई २–१ ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७