दशैं : १५ दिनमा ६ लाख पाँच हजारले काठमाडौं उपत्यका छाडे


२५ आश्विन २०७८, सोमबार
gadi bhidbhad11633929943

काठमाडौं, २५ असोज । दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप बढेको छ । दशैंको टीकाको दिन नजिकिँदै जाँदा काठमाडौं छाड्नेहरूको संख्या ह्वात्तै बढेको हो ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायत क्षेत्रमा घर फर्किनेहरूको सोमबार पनि बिहानैदेखि ठूलो भिड लागेको छ । शिक्षा, रोजगारी तथा व्यावसायिक कामले घर बाहिर रहेकाहरू दशैंमा आफ्नो गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरूको भिड बढेको हो । कोरोना महामारीको जोखिमबीच पनि मानिस काठमाडौं उपत्यकालगायत शहरबाट घर फर्किरहेका छन् ।

कोरोना भाइरस महामारीभन्दा अघिल्ला वर्षहरूको दशैंमा ११÷१२ लाख यात्रुले उपत्यका छोड्ने गरे पनि अहिले भने यो संख्यामा कमी आएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासले जानकारी दिए । एसपी दासका अनुसार यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेका छन् ।

मुख्य राजमार्गमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा दशैंमा घर फर्कने यात्रु समस्यामा परेका छन् । खाल्डाखुल्डीका कारण राम्रोसँग गाडी आवतजावत हुन नसक्दा एकै ठाउँमा घण्टौं जाम हुने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्नु परेको हो ।

पृथ्वी राजमार्ग, नारायणघाट बुटवल सडक खण्ड, अरनिको राजमार्ग, पासाङ ल्हामु राजमार्ग, र पूर्व पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले यात्रुले सास्ती भोग्नुपरेको हो ।

बर्खाको समयमा पहिरोले सडक कटान गर्दा तथा ढुङ्गामाटो सडकमा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसका कारण लामो दूरीका यात्रुले बढी समस्या भोग्नु परेको छ । वर्षातका कारण समयमै सडक मर्मत गर्न नसकिएको सडक विभागले जनाएको छ । दुई घण्टा लाग्ने ग्रामीण सडकको यात्रा गर्न ५, ६ घण्टासम्म लाग्ने गरेको यात्रुले गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७