पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्छौं : प्रधानमन्त्री


२५ आश्विन २०७८, सोमबार
thumb 2 3

पोखरा, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने उनले बताएका हुन् ।

सोमबार निर्माणाधीन विमानस्थलको अवलोकनमा पुगेका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराएका थिए । रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि ३ महिना समय लाग्ने जानकारी नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले गराएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले ईआईए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने बताए । बर्खामा उत्तरपट्टीबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टी गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने उनले बताए ।

आयोजना कार्यालय र प्रधानमन्त्री बीचको छलफलमा भने सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन । साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा आइतबार सेनाको हेलिकप्टरबाट पोखरा आएका उनी सोमबार पोखरा विमानस्थलबाट हेलिकप्टरमै निर्माणाधीन विमानस्थल पुगेका थिए । विमानस्थल अवलोकनपछि उनी काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७