‘बूढानीलकण्ठबाट बालुवाटार सरेर देउवाको काम सुत्ने मात्रै भयो’


२५ आश्विन २०७८, सोमबार
khimlal bhattarai EUpqHMYu8K

काठमाडौं, २५ असोज । नेकपा एमालेका सदस्य खिमलाल भट्टराईले पाँच दलीय गठबन्धनको यो सरकारले जनताका कुनै काम गर्न नसक्ने आरोप लगाएका छन् ।

आज (सोमबार) को राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो सरकार आएर मामली र ससुराली खुशी भए होला’, उनले भने, ‘तर यो सरकारबाट जनताले केही अपेक्षा गरेका छैनन् ।’ उनले असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी भएको सर्वोच्च अदालतबाट भएको परमादेशको पनि पोल खुलिसकेको बताएका छन् ।

‘परमादेश कसरी आयो भन्ने पनि प्रमाणित भएको छ’, उनले भने, ‘परमादेश जारी हुनु र सर्वोच्चको फैसला आजको राजनीतिक घटना क्रमले स्पष्ट पारेको छ ।’

उनले परमादेशको ढाकछोपका लागि एकजना मन्त्रीले राजीनामा दिएर नहुने बताए । ‘अब पोल खुलिसकेको छ । यही नाटकबाट देश चल्छ ?’, उनले भने, ‘लोकतन्त्र विस्तारै कमजोर हुँदै गएको छ । देश सरकारविहीन अवस्थामा छ । यो सरकारले के गर्छ र माग पनि गर्नु जनताले ?’

उनले प्रधानमन्त्री देउवा सुत्ने बाहेक केही काम नगरेको बताए । ‘प्रधानमन्त्री देउवा बूढानीलकण्ठबाट बालुवाटार आएर सुत्ने काम गरेका छन्’, उनले भने, ‘उनी घरी घरी उठ्छन् अनि हाम्रा राम्रा काम भत्काउँछन् । यो सरकारले न कान सुन्छ, न हेर्न सक्छ न काम नै गर्न सक्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७