जीप दुर्घटनामा एकै गाउँका दुईसहित तीनको मृत्यु, शोकमा डुब्यो गाउँ


२५ आश्विन २०७८, सोमबार
accident

स्याङजा, २५ असोज । आइतबार साँझ स्याङजाको वालिङ–१० मदिखोला नजिकै भएको जीप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि दशैं चाडको मुखमा अहिले गाउँ नै शोकमा डुबेको छ ।

जीपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

‘वालिङबाट गाउँतर्फ जाँदै गरेको जीप आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ’, वडा अध्यक्ष पङ्गेनीले भने, ‘जीपमा सवार रहेकामध्ये धेरै लिहुडाँडाका हुन्, जहाँका दुई जनाको मृत्यु भइसकेको छ भने अन्यको पोखरामा उपचार भइरहेको छ, गाउँ पूरै शोकमा छ ।’

दशैंको बेला बजारबाट गाउँतर्फ फर्किदै गरेका एउटै गाउँका आफन्तलाई गुमाउनुपर्दा र अङ्गभङ्ग भएर अस्पतालमा बस्नुपर्दा अहिले गाउँमा निक्कै पीडा महसुस भएको वडाध्यक्ष पङ्गेनीले बताए । वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो ।

उक्त जीपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७