आफ्नै कार्यकर्ताले जलाए उपेन्द्र यादवको पुतला, कार्यालयमा ताला


२५ आश्विन २०७८, सोमबार
Upendra Yadav1633952770

काठमाडौं, २५ असोज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवविरुद्ध बालकुमारीमा प्रदर्शन गरेका छन् । उनीहरूले बीच सडकमै नाराबाजी गर्दै अध्यक्ष यादवको पुतला समेत जलाएका छन् ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाएर सडक आन्दोलन गरेका हुन् । आन्दोलकारीले अध्यक्ष यादवमाथि पार्टीमा राम्रो काम गरेका प्रदीप यादवलाई मन्त्री बनाउने भन्दै सूची तयार पारे पनि बुझाउन जाँदा पैसा खाएर नाम फेरेको आरोप लगाएका छन् ।

जसपाको महानगर कार्य समितिका उपाध्यक्ष रुस्ताम शेखले पार्टीमा अन्याय भएका कारण आन्दोलन गर्नुपरेको बताए । ‘हाम्रा माननीय सांसद प्रदीप यादवको नाम मन्त्री सिफारिस गर्न जाँदा बाटैमा काटिएको छ’, शेखले भने, ‘बाटोमा जाँदाजाँदै उहाँले कोसँग पैसा खाएर उहाँको नाम काट्नु भयो । जसको मेहनतले चार पाँच सिट चुनाव जितेको छ, उसैमाथि अन्याय किन गरियो ?’

राम्रो काम गर्नेलाई प्रोत्साहन दिनुको साटो अपहेलित गर्ने काम भएको उनको भनाइ छ । उपेन्द्र यादवले प्रदीप यादवलाई मन्त्री नबनाएपछि जनता समाजवादी पार्टीका प्रदेश युवा कार्यसमिति सदस्य कुन्दनकुमार सिंहको नेतृत्वमा ४० जना युवा काठमाडौं आएका थिए ।

उनीहरूले काठमाडौंका करिव १०० कार्यकर्ता भेला गरेर पार्टी कार्यालयमा तालाबन्दी गर्दै पार्टी अध्यक्ष यादवको पुत्ला जलाएका हुन् । अध्यक्ष यादव निकटहरूले भने प्रदीय यादव एमाले प्रवेश गर्न खोज्दा रोकेको भन्दै उनको पार्टीप्रतिको निष्ठामै प्रश्न रहेको बताउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७