मन्त्री किसान श्रेष्ठ जसले कांग्रेसको उर्बर माटोमा कम्युनिष्टको बिरुवा हुर्काए


२५ आश्विन २०७८, सोमबार
krishnakumar shrestha tanahu leaders scaled

काठमाडौं, २५ असोज : तनहुँ नेपाली कांग्रेसको लागि उर्बर जिल्ला । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कुनै बेलाका चल्दापुर्जा नेता गोविन्दराज जोशी, शंकर भण्डारी, गोविन्द भट्टराईदेखि प्रदीप पौडेलसम्मका नेताहरु तनहुँले जन्माएको हो । तनहुँका कांग्रेसका नेताहरुको गहिरो प्रभाव राष्ट्रिय राजनीतिमा छ । एक हिसाबले तनहुँमा कांग्रेसले तलसम्म जरा जमाएको छ ।

०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट विजयी बन्दै आएका थिए । पौडेलले छाडेपछि उनको विरासत कांग्रेसकै नेता गोविन्दराज जोशीले सम्हाले। जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते ।

गत निर्वाचनमा कांग्रेस वरिष्ठ नेता उनै जोशीले सम्हाल्दै आएको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ बर्षपछि फर्किए । तनहुँका सबै क्षेत्र कम्युनिष्ट पार्टीका लागि खोरिया फाड्नु जस्तै थियो । त्यही क्षेत्रमा नेकपा (एमाले)ले कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई पठायो । कांग्रेसको उर्बर भूमीमा गएर कम्युनिष्टका लागि खोरिया फाड्न तयार भए व्यवसायमा सफल भइरहेका श्रेष्ठ । २०३८ सालदेखि राजनीतिमा आबद्ध भए पनि श्रेष्ठको मुख्य पेशा व्यवसाय थियो ।

होटल, हाउजिङ, रियलस्टेट, ग्यांस र म्याट्रेस उद्योगमा सफलता हात लगाइरहेका श्रेष्ठ राजनीतिमा आक्रमक रुपमा प्रस्तुत भए । जनताको दैनिकी र विकाससँग जोडिएका कामहरुमा हस्तक्षेपकारी भूमिका निभाए । श्रेष्ठ त्यसैको तागतमा २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ६ हजार ८ सय १४ मत अन्तरले पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । श्रेष्ठ भन्छन्, ‘यो क्षेत्र कम्युनिष्टको लागि बाँझो जग्गा जस्तै थियो । मैले खोरिया फाँडेर कम्युनिष्टका लागि मलिलो बनाएकै हुँ ।’

तनहुँको निर्वाचन क्षेत्र नं १ मा देवघाट गाउँपालिका, आबुखैरहनी गाउँपालिका, बन्दीपर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाको वडा नं १,२,३,४, ७,८,९,१०,११,१२,१३, १४ नम्वर वडाहरु पर्दछ । क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) मा व्यास नगरपालिकाको वडा नं २,३,४,७,८,९,१०,११ र भानु नगरपालिका पर्दछ भने प्रदेश क्षेत्र २ मा व्यास नपाको वडा नं १, १२, १३, १४, बन्दीपुर गाउँपािलका, आबुखैरहनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । यो सबै क्षेत्रमा कांग्रेस बलियो थियो ।

पौडेल प्रजातान्त्रिक आन्दोलनमा निरन्तर लागिरहेका शालिन नेता हुन् । पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पौडेल राजनीतिमा होमिएका थिए । सुशील कोइरालाको मृत्युपछि कांग्रेसको कार्यवाहक सभापति समेत भइसकेका पौडेलले पाँच पटक संसदीय चुनाव जितेका छन् । उनले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं २ बाट विजय हासिल गरेका थिए ।

तनहुँ क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालको दुवै संविधान सभाको निर्वाचनमा पौडेल निर्वाचित भएका थिए । र श्रेष्ठले पौडेललाई पछारे । बीपी, गणेशमान, कृष्णप्रसादको सानिध्यमा हुर्केका भावी प्रधानमन्त्रीको आधार भएका पौडेललाई श्रेष्ठले पराजित गरे । श्रेष्ठले केवल पौडेलाई मात्रै होइन मुलुकको हुनेवाला प्रधानमन्त्रीलाई हराइदिए ।


प्रतिबद्धता पुरा नभएपछि नयाँ पार्टीमा
श्रेष्ठ पछिल्लो समयमा नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली निकट थिए । कांग्रेसको दोस्रो नेतालाई पराजित गरेको, कांग्रेसको बलियो किल्ला भत्काएको र तनहुँमा पार्टीलाई थप बलियो बनाउन आफू मन्त्री हुनुपर्ने उनको दलिल थियो । अध्यक्ष ओलीले पनि मन्त्री बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर ओलीले पटक-पटक मन्त्रीपरिषद् पुन गठन गर्दा समेत उनलाई अबसर दिइएन ।

श्रेष्ठले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने समयमा ओलीको साथ छोडेका थिए । अर्थात् बिद्रोह गरे । उतिबेला उनले एकाएक समूह बदल्दा धेरैले अचम्म समेत माने । यसपछि उनी वरिष्ठ नेता माधवकुमार नेपालको साथमा लागे । नेकपा (एकीकृत समाजवादी) निर्माणमा आक्रमक ढङ्गले उनी लागे । श्रेष्ठलाई मन्त्री बनाए गण्डकीमा पार्टीलाई बलियो बनाउने विश्वासको साथ मन्त्री बनाएका छन् ।


श्रेष्ठ भन्छन्, ‘गरेर देखाउँछु’

Kisan Shrestha
मन्त्री भएपछि श्रेष्ठ


श्रेष्ठले निकै आरोहपछि मन्त्रीको जिम्मेवारी पाएका छन् । छोटो समय भएपनि काम गरेर देखाउने उनको दृढता छ । त्यसो त श्रेष्ठ प्रष्ट बोल्छन् । धक फुकाएर काम गर्छन् । भन्छन्, ‘म जहाँ गए नी रिजल्ट देखाउँन सक्छु ।’ राम्रो गरेर देखाउने बाहेक आफूसँग अर्को विकल्प नरहेको उनको भनाई छ । भन्छन्, ‘मलाई अरु आबश्यक छैन । एक पटक जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउँछु ।’

श्रेष्ठले सम्हालेको मन्त्रालय महत्वपूर्ण काम, श्रम तथा रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन हो । श्रेष्ठ भन्छन्, ‘सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसरहरु सृजना गर्ने र आत्म स्वभिमानको साथ काम गर्ने वाताबरणको निम्ती तिव्र पहल गर्छु । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकका ७५३ वटै स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार मुलुकमा १७ लाख बेरोजगार छन्। यो संख्या मुलुकको कुल श्रमशक्तिको २१.५४ प्रतिशत हो । यी श्रमशक्तिलाई कसरी रोजगारी दिने ? यसको खोजी गर्नेछु । उचित नीति बनाएर देखिने गरी काम गर्नेछु ।’

समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाको निम्ती तदनुरुपका नीति, कानुन र मापदण्ड बनाउने उनको योजना छ । भन्छन्, ‘हाम्रा श्रमिकहरुले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गर्नेछु ।’

श्रम मन्त्रालयको अर्को महत्वपूर्ण जिम्मेवारी वैदेशिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमन हो । श्रेष्ठ भन्छन्, ‘रेमिट्यान्स राज्यको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएको छ । यसको निम्ती ठोस नीति, कानुन, मापदण्ड निर्माण अझै भएको छैन । कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा आफ्नो ऊर्जाशील समय विदेशी भूमिमा श्रम–पसिना बगाएर बताउँदै आएका छन् । ती ४० प्रतिशत हाम्रा नेपाली युवाले कतार, दुबई, साउदी र मलेसियालाई समृद्ध बनाइरहेका छन् । सकेसम्म ती युवालाई देशभित्रै रोजगारीको अवसर सृजना गर्नेमा जोड हुनेछ । यदि तत्काल त्यो सम्भव भए पनि विदेशमा जाने युवाहरुको सबै खालको सुरक्षाको निम्ती बलियो नीति, कानून, मापदण्ड निर्माणमा लाग्नेछु ।’

वैदेशिक रोजगारीबाट गत आर्थिक वर्षमा मात्रै९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको छ । अघिल्लोआर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रेमिट्यान्स ९.८ प्रतिशत बढी आएको हो। आर्थिक अर्थात्वैदेशिक रोजगामारी पनि अवसर घटेको छ । भन्छन्, ‘अब त्यसको समधानको निम्ती अध्ययन गरेर ठोस काम गर्छु ।’

मन्त्री श्रेष्ठले सम्हालेको मन्त्रालयको अर्को महत्वपूर्ण जिम्मेवारी औद्योगिक विवाद समाधान, रोजगारसम्बन्धी तथ्याङ्क, अध्ययन र अनुसन्धान हो । औद्योगिक क्षेत्रमा श्रमिक हुने माथि शोषणको अन्त्य गर्ने उनको योजना छ । भन्छन्, ‘औद्योगिक निकायसँग छलफल गरेर दिर्घकालिन समधानको निम्ती काम गर्छु । हाम्रो अर्को समस्या रोजगारसम्बन्धी तथ्याङ्क, अध्ययन र अनुसन्धान भएकै छैन । विज्ञ र अध्येताहरुसँग समन्वय गर्छु । देशभित्र वा बाहिर रोजगारी सम्बन्धीका तथ्याङ्गका लागि अनुसन्धानको निम्ती समिती निर्माण गरेर काम गर्छु ।’ रोजगार उन्मुख सीपमूलक एवं व्यावसायिक तालिम नीति, ट्रेड युनियनसम्बन्धी एकिकृत कानून र नियमन, बालश्रम निवारणसम्बन्धी नीति र कानून निर्माण लगायत उनको प्राथमिकता छ ।

मन्त्रीको जिम्मेवारी पाएपछि श्रेष्ठ निकै उत्साहित छन् । व्यवसायबाट राम्रो आर्जन गरीसकेका श्रेष्ठले मन्त्री बनेको चार दिनमै उनले सबैभन्दा छिटो आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७