भक्तपुरमा म्याद नाघेका सामान र कुहिएको मासु बिक्री


२६ आश्विन २०७८, मंगलवार

भक्तपुर, २६ असोज । दशैं नजिक आएसँगै भक्तपुर नगरपालिकाले पनि बजार अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सोमबार वंशगोपाल क्षेत्रमा रहेका पसल एवम् मिनिमार्टहरूको अनुगमन गर्दा दशैंको मौकामा म्याद गुज्रेका खाद्य सामगीहरू बिक्रीका लागि राखेको पाइएको छ ।

अनुगमनमा अजिमा स्टोर मार्केटमा म्याद नाघेको र लेबल नभएको १६ प्रकारका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यस्तै राज्य स्टोर, कमलविनायक मिनिमार्ट, के.एम.मार्टमा मिति र लेबल नभएको खाद्य पदार्थ बिक्रीमा राखेको, म्याद गुज्रेका खाद्य वस्तु बिक्रीमा राखेको, कुहिएको सामान पनि बिक्री गर्ने सामानसँगै राखिएको पाइएपछि करिब १७ प्रकारका म्याद नाघेका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।

अधिकांश पसलमा लेबल नभएको प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र नलिएको, लेबल नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको र म्याद गुज्रेकै सामान बिक्री गरेको पाइएको छ ।

त्यस्तै मासु संसारमा बिक्रीका लागि राखेको बिग्रेको मासु २४ किलो जफत गरी नष्ट गरिएको उनले बताए । मासु पसल, फ्रिज फोहोर भएको, बिग्रेको मासु फ्रिजमा राखेको, पसल तथा ढक तराजु नवीकरण नगरेकाले तराजु जफत गरी दशैंलगत्तै कार्यालयमा उपस्थित हुने निर्देशन दिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७