मानसिक समस्याबारे बेलैमा सोचौं


२६ आश्विन २०७८, मंगलवार
1605178710 manasiksa 1200x560 1

काठमाडौं, २६ असोज । पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन। विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससंगै बढ्दो गतिमा गएको देखिन्छ ।

केन्द्र सरकारले यदाकदा मानसिक स्वास्थ्यका बारेमा न्यून चासो दिने गरेको देखिए पनि प्रदेश सरकार र स्थानीय तहहरू यो विषयमा अनभिज्ञ जस्तै छन् । मानसिक स्वास्थ्यलाई समस्याका रूपमा नलिने गरेका कारण पनि समस्या ओझेल परेको हो । विभिन्न सरकारी निकायहरू सम्वेदनशील नबनिदिएका कारण स्वास्थ्यका जटिल मुद्दाहरू जहिल्यै लुक्ने गर्दछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य एउटा अवस्था हो । जसमा व्यक्तिले आफूसँग भएको सामथ्र्यलाई महसुस गर्ने, जीवनमा आइपर्ने सामान्य तनावलाई सामना गर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजका लागि योगदान गर्न हुन्छन् ।

मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वाथ्यलाई समेटेको हुन्छ । यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ । त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्य हुने ढंगले प्रकट गर्दछन् ।

मन र समाज बिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुँदैन । यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ । तर एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हन्छ, उसँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्याक्तिगत भावना विचार, धारणा, बुझाइ आदि पनि हुन्छ । यी दुई बिचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुई बिच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ ।

मानसिक तनावका कारण मानिसलाई थुप्रै रोग लाग्न सक्छन् । डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअडर, छटपटीको समस्यासंगै निन्द्राको समस्या समेत हुन्छ । तनावका समयमा मानिसहरूले लागु पदार्थ समेत प्रयोग गर्छन्। अहिलेको कोरोना महामारीमा पनि धेरै जना एकैपटक प्रभावित हुन्छन र भइरहेको छन् ।

समाजमा अफवाहजन्य कुराहरू फैलिएका कारण पनि अस्तव्यस्तजस्तै बनेको छ । आधारहीन हल्लाले मानिसहरूमा नकारात्क भावनाको विकास हुन्छ भने व्यक्तिहरूको दिनचर्या पूरै उथुलपुथल हुन्छ ।

यो अवस्थामा मानिसहरू सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक रूपले एकदमै दयनीय अवस्थामा हुन्छन् । कतिपय घरका परिवारिक सदस्यहरू आइसुलेसनमा बसेको यो समयमा बिरामी आफै मात्र नभई उनको परिवारलाई तनाव भइरहेको छ । मानसिक रूपमा चिन्ता, पीर छटपटी भइरहेको अवस्था छ । अहिले दिन प्रतिदिन आत्महत्याका घटनाहरू बढिरहेको अवस्था छ ।

मानिसहरूलाई दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराशा हुने, छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुन्छ । हातखुट्टा झमझमाउने पोल्ने कहिले यता कहिले यता दुखे जस्तो लाग्ने हुन्छ । यस्तो बेलामा जचाउन गयो रिपोटमा केही पनि आउँदैन यो सबै तनावका कारणले हुन्छ ।

मानसिक तनावबाट बच्ने उपायहरू

मानसिक तनावबाट बच्न, शारीरिक स्वस्थ्य राख्न हामी व्यायाम गर्ने जस्तै मन स्वस्थ राख्नका लागि पनि काम गर्नुपर्छ । आफ्नो विचारलाई कसरी स्वस्थ राख्ने ? मेरो विचार कतातिर गइरहेको छ ? म आज कस्तो छु ? मेरो सोचाइ कस्तो छ ? म स्वस्थ्य छु कि छैन ? आज म खुसी छु कि छैन अलि तनाव पो छु कि यस्ता कुरा बेलाबेलामा याद गर्नुपर्छ । मेरो तनाव कस्तो खालको हो, मेरो पारीवारिक हो कि व्यावसायिक हो कि या जागीरको पो हो कि यसलाई पत्ता लगाउनु पर्छ । यस्ता कुराको साथै निन्द्राको व्यवस्थापन खानाको व्यवस्थापन गर्न जरुरी छ ।

आफू र परिवारलाई बेलाबेलामा मनोरन्जन दिन आवश्यक छ । आफूले आफूलाई स्वस्थ र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छु कि छैन भनेर आफूले आफूलाई जाँच्नुपर्छ । आधुनिकताले गर्दा व्यक्तिवादी चिन्तन हावी भएको छ । दिनरात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाई फुर्सद छैन । रातिमा काम गर्नेलाई अझ बढी तनाव हुनसक्छ ।

बेलाबेलामा साथीभाइ,आफन्तसंग घुम्ने रमाइलो गर्ने गर्नु पर्दछ । बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन । आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नु पर्दछ । यस्ता समस्या देखिए भने मनोविमर्शकर्ता कहाँ जानुपर्छ र त्यहाँबाट समस्या समाधान हुन नसकेमा मानसिक रोग विशेषज्ञहरूसंग सल्लाह लिनुपर्छ ।

नेपालमा मानसिक समस्या भन्नासाथ एउटै कुरा बुझ्ने गर्छौ त्यो हो पागलपन। जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठन सक्दैन तबसम्म यो समस्या रहिरन्छ । अहिले पनि मानसिक स्वास्थ्यलाई समस्याको रूपमा हेरिएको अवस्था छैन । मानसिक समस्यालाई लाज र घृणाको संज्ञा दिइरहेको छ ।

यसले समस्यामा परेको व्यक्ति झन् समस्या भोग्नुपरेको छ भने समाजले पनि कतै न कतै पीडाबोध गरेको हुन्छ । सबैभन्दा पहिले त मानसिक समस्याप्रति कोही कतै पनि संवेदनशील नभएको पाइन्छ । यसले यो समस्यालाई झनै मौलाएको देखिन्छ ।

विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन् । १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो । विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरूमा भएको छ । नेपालमा आत्महत्यासम्बन्धी नियमित तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनले २०१२ मा उमेर अनुसारको आत्महत्याको दर निकालेको थियो ।

नेपाल आत्महत्याबाट मृत्यु हुने देशमा सातौं स्थानमा रहेको र प्रति एक लाखमा २५.९ जना व्यक्तिहरूले आत्महत्या गर्ने देखिएको छ । सन् २००८÷०९ मा गरिएको मातृमुत्यु र रुग्नता अध्ययनले प्रजनन उमेर समूहका महिलाको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको जनाएको छ । यसले नेपालमा मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै कमजोर र भयावह रहेको देखाउँछ ।

नेपालमा मानसिक स्वास्थ्य नीति २०५२ सालमा बनेको थियो तर पनि मानसिक स्वास्थ्य कार्यक्रमले नेपालको राष्ट्रिय स्वास्थ्य एजेन्डामा गतिलो प्राथमिकता पाएन । स्वास्थ्य मन्त्रालयले २०७१ मा नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्य योजनामा मानसिक स्वास्थ्य सम्बन्धी कार्य क्षेत्रहरू तोकिनुको साथै कार्यान्वयनको तहमा ल्याएको छ ।

यसको अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२–२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगको रूपमा समावेश गर्दै आधारभूत स्वास्थ्य सेवा सूचीमा इपिलिप्सि, स्किजोप्रेनिया, बाइपोलार डिसअर्डर र एन्जाइटी डिसअर्डरलाई समावेश गर्दै त्यसको निःशुल्क उपचार तथा मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको अवस्था छ ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तिन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउने छन् । हरेक स्थानीय तहहरूले एक जना मनोविमर्शकर्तालाई खटनपटन गर्न सकेमा मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुनेछ ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तिन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउने छन् । हरेक स्थानीय तहहरूले एक जना मनोविमर्शकर्तालाई खटनपटन गर्न सकेमा मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुनेछ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७