‘एनआरएनए’ विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषद्लाई दिन माग


२६ आश्विन २०७८, मंगलवार

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन् । आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे ।

सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १० औं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो ।

सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ । सङ्घको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको छ ।

सङ्घका प्रमुख संरक्षक डा. घलेले भने, ‘सङ्घमा देखिएका समस्या समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ ।’ कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताए ।

एनसीसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’ बाट महासचिव पदका उमेदवार डा. केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७