जर्मनी बन्यो कतार विश्वकपमा छनोट हुने पहिलो टिम


२६ आश्विन २०७८, मंगलवार
germany1634009070

काठमाडौं, २६ असोज । जर्मनी कतार विश्वकप २०२२ का लागि छनोट हुने पहिलो राष्ट्र बनेको छ । चार पटकको विश्व विजेता जर्मनीले गए राति नर्थ म्यासेडोनियालाई ४–० ले हराउँदै कतारको टिकट पक्का गरेको हो ।

जर्मनीले काई हाभार्टेजको गोलबाट ५०औ मिनेटमा अग्रता लिएको थियो । ७०औं मिनेटमा टिमो वेर्नरले अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेट वित्न नपाउँदै वेर्नरले व्यक्तिगत दोस्रो गोल थपे । खेल सकिन सात मिनेट हुँदा जमल मुसिएलाले अर्को गोल थपेपछि जर्मनीले सहज जित निकालेको हो । मुसिएला जर्मनीबाट गोल गर्ने दोस्रो कान्छो खेलाडी बने । मुसिएलाले १८ वर्ष २२७ दिनको उमेरमा गोल गरेका हुन् ।
यसअघि गत मार्च अन्तिममा म्यासेडोनियासँग २–१ ले पराजित भएपछि जर्मनीको चर्को आलोचना भएको थियो ।

जितसँगै जर्मनीले समूह ‘जे’को शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो । जर्मनीले आठ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रोमानियाको भन्दा आठ अंकले माथि हो । समूहमा अब दुई चरणका खेलमात्र बाँकी छन् । रोमानियाले अब बाँकी दुबै खेल जिते पनि जर्मनीलाई पछि पार्न सक्दैन ।

युरोपियन च्याम्पियनसिपपछि जर्मनीको प्रशिक्षण सम्हालेका हान्सी फ्लिकको यो लगातार पाँचौं जित हो । बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकले अहिलेसम्म सतप्रतिशत विजयी नतिजा निकालेका छन् ।

‘हामीले जे चाहन्थ्यौं, त्यो हासिल गर्‍यौं’, जर्मनीका प्रशिक्षक फ्लिकले भने, ‘हामी चाँडोभन्दा चाँडो विश्वकपमा स्थान बनाउन चाहन्थ्यौं ।’ दोस्रो स्थानमा रहेको रोमानियाले अर्मेनियालाई १–० ले हरायो । समूह ‘जे’ का अन्य खेलमा आइसल्यान्डले लिक्टेन्स्टाइनलाई ४–० ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७