अब सबैको हात हातमा ‘इकु’ (भिडियो)


प्रकाशित मिति : October 12, 2021

काठमाडौं, २६ असोज । दर्शकले अत्याधिक मन पराएको पात्र ‘इकु’ सानो पर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् ।

‘इकुपिताङ’ को दशैंको अवसर पारेर शनिबारदेखि प्रसारण शुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए । सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रशारण शुरु गरेका हुन् । दर्शकले आफ्नो हातमा रहेको मोवाइलबाट पनि हेर्न पाउन् भनेर सिधै युट्युवबाट ल्याइएको सुलेमानको भनाई रहेको छ ।

बालकदेखि बृद्धसम्मले मनपराएको पात्र ‘इकु’ समेटिएको सिरियलको नयाँ नयाँ भाग अवदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउने छन् । सिरियलमा ‘इकु’ को भूमिका सुलेमानै छन् । यस अगाडि पनि अन्य सिरियलमा यो भूमिका उनले नै निर्वाह गरेका थिए ।

सुलेमानको अलवा सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिने छ ।

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत सिरियलमा छ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’ को केही भागमा ‘इकु’ लाई प्रस्तुत गरेका थिए । पहिलो पटक ‘इकु’ हाँस्य सिरियल मेरी बास्सैमा देखिएको थियो ।

‘दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि देखिन पाउदा निकै खुशी लागेको छ । फेरि एक पटक ‘इकु’ बनेर दर्शकलाई भरपुर मनोरञ्जन दिनेछु’ सुलेमानले भने ‘दर्शकले सँधै भन्नु हुन्थ्यो इकु कहिले हेर्न पाइन्छ ।’ दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको सुलेमानले सुनाए ।

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जीवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन सिरियलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्