ओली–प्रचण्डलाई फेरि मिलेर अघि बढ्न चिनियाँ राजदूतको सुझाव


२६ आश्विन २०७८, मंगलवार

काठमाडौं, २६ असोज । छिमेकी मुलुक चीनले नेपालमा अझै पनि एउटै र बलियो कम्युनिष्ट पार्टी होस् भन्ने आफ्नो चाहना प्रकट गरेको छ ।

नेपाल डायलग फोरमले आज (मंगलबार) भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले चीनको सो चाहना व्यक्त गरेकी हुन् । नेपालमा स्थायित्वका लागि दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर अघि बढ्नु पर्ने चीनको सुझाव छ ।

यसले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा हुने चिनियाँ दाबी छ । मंगलबारको कार्यक्रममा यान्छीले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैको नाम लिएर दुबै मिल्नको लागि अनुरोध गरिन् ।

यसअघि यी दुई दललाई मिलाउन पनि चीनकै भूमिका रहेको तथ्य बाहिरिएको थियो । तत्कालीन नेकपामा आन्तरिक विवाद बढ्दा चीनले सतहमै देखिने गरी विभाजन रोक्ने अभियान चलाएको थियो ।

कार्यक्रममा एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशन र माओवादीले यसबीचमा गरेका पार्टीका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा पनि चीनले बधाइ दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको अवसरमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङलाई पत्र लेखेकोमा समेत राजदूत यान्छीले धन्यवाद दिएकी छिन् ।

राजदूत यान्छीले बडादशैंको उपलक्ष्यमा नेपाली नागरिकलाई पनि शुभकामना दिएकी छिन् । एमाले सचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छोटो समयमै चीनले हासिल गरेको समृद्धि कम्युनिष्ट पार्टीको लागि परीक्षा भएको बताए । माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले सय वर्षमा चीनले हासिल गरेको सफलताको चर्चा गर्दै नेपाली कम्युनिष्ट पार्टीहरुले पनि यसबारे सिक्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७