दशैं सुरक्षा : काठमाडौंमा चार हजार प्रहरी परिचालन, ४६ ठाउँमा चेकजाँच


२६ आश्विन २०७८, मंगलवार
a

काठमाडौं, २६ असोज । दशैं–तिहार लगायतका चाडबाडलाई लक्षित गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले चार हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

परिसर काठमाडौंले दशैं–तिहार जस्ता चाडबाडमा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गरेको हो । जस अनुसार काठमाडौंमा सादा पोसाकमा बाहेक मात्रै ३३ सय प्रहरी खटाइएको छ । यस्तै काठमाडौंका मुख्य सडक तथा भीडभाड हुने क्षेत्रमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । काठमाडौं परिसर अन्तर्गतका १४ वटा वृत्तलाई विभाजन गरी प्रहरी परिचालन गरिएको हो ।

परिसरका एसएसपी अशोक सिंहका अनुसार ३६ स्थानमा ‘सर्च’ टोली खटाइएको छ । यस्तै १४ वटा क्यूआरटी टोली, मोबाइल टोली २४, ९० स्थानमा पिकेटिङ, मोटरसाइकल क्यूआरटी ७६ र सादा पोसाकमा ३८ टोली खटाइएको छ ।

यस्तै विभिन्न २१ स्थानमा चेक प्वाइन्ट राखिएको छ । १२ वटा मन्दिरमा सुरक्षा व्यवस्था मिलाइएको छ भने बसपार्क तथा भीडभाड हुने ११ स्थानमा हेल्प डेस्क राखिएको छ । यस्तै २२ स्थानमा एम्बुसिङ निगरानी टोली खटाइएको छ । ४६ स्थानमा क्रस चेकिङका लागि व्यवस्था मिलाइएको तथा अति विशिष्ट व्यक्तिका सवारी तथा कार्यक्रमहरुमासमेत आवश्यक जनशक्ति खटाइएको परिसर काठमाडौंले जनाएको छ ।

सुरक्षा योजनामा व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ । यस्तै प्रहरीले दशैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ ।

यसअघि नै प्रहरीले काठमाडौंका घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम, ठेगानासहितका फोटोसहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरेको थियो । चाडपर्व नजिंकिंदै गर्दा चोरी, डकैती, लुटपाटलगायत आपराधिक कार्य हुनसक्ने भएकोले परिसरले सचेत हुन समेत सबैमा आग्रह गरेको छ । यस्तै जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरुकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निगरानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिँड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ । यसैगरी सार्वजनिक स्थलहरूमा धुम्रपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागू औषध तथा नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिनसमेत आग्रह गरिएको छ ।

यस्तै रातको समयमा घरको ढोका कसैले ढकढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ । रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ ।

यसैगरी सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ । यस्तै जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरुकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिन समेत भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७