रोल्पामा कांग्रेस कार्यकर्ताको आफ्नै घरमा घाँटी रेटेर हत्या


२६ आश्विन २०७८, मंगलवार
rolpa congress karyakarta hatyaa O3RBHOabMR

रोल्पा, २६ असोज । रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बाेटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो ।

बुढाको आफ्नै घरमा घाँटी काटेको अवस्थामा शव फेला परेको रोल्पा प्रहरीले जानकारी दिएको छ । उनी गत साउन २३ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले क्षेत्रीय प्रतिनिधि बुढाको आइतबार राति हत्या भएको जानकारी दिए ।

‘हिजो (सोमबार) बिहान ११ बजे घटना थाहा भयो । अघिल्लो राति हत्या भएको हुन सक्छ,’ उनले भने । सभापति पुनका अनुसार बुढा घरमा एक्लै बस्दै आएका थिए । श्रीमतीको निधन भइसकेको, छोराहरु वैदेशिक रोजगारीमा रहेका र छोरीको बिबाह भइसकेकाले बूढा एक्लै बस्दै आएका उनले बताए ।

प्रहरीले हत्या गरेको आशंकामा मृतकका भाइ अमराज बुढालाई पक्राउ गरेको छ । कुकुरले गरेको पहिचान गरेका आधारमा प्रहरीले भाइलाई पक्राउ गरेको हो । रोल्पा प्रहरीले बाँकेको नेपालगञ्जबाट कुकुरसहितको टोली घटनास्थल बोलाएको थियो ।

‘अहिलेसम्म घटना कसले गराएको हो भन्ने खुलेको छैन । हत्या आरोपमा प्रहरीले मृतकका भाइ पक्राउ गरेको छ,’ जिल्ला सभापति पुनले भने । घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा हत्या भएको अवस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७