मोतिपुर गोली काण्ड : मृतकका परिवारलाई सरकारले साढे पाँच लाख दिने

मोतिपुरको कर्फ्यू आज राति १२ बजेदेखि हट्ने, निषेधाज्ञा यथावत


२६ आश्विन २०७८, मंगलवार
motipur lumbini

रुपन्देही, २६ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको हो । मृतकको किरिया खर्च बापत ५० हजार र राहतस्वरूप प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

विज्ञप्ति

यसअघि, सोमबार लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । केन्द्र सरकारले घाइते भएका प्रहरी र सुकुम्बासीको उपचार पनि गर्ने जनाइएको छ ।
गएको आइतबार मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप हुँदा चार नागरिकको मृत्यु भएको थियो । करिब ५० जना घाइते भएका थिए ।

मोतिपुरको कर्फ्यू आज राति १२ बजेदेखि हट्ने, निषेधाज्ञा यथावत
बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्यू आज (मंगलबार) राति १२ बजे देखि हटाउने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै असोज २४ गते दिउँसो ४ बजे देखि लगाईएको कर्फ्यू रातिको १२ पछि हटाइने जनाएका छन् ।

बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप हुंदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु र प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्यू लगाइएको थियो ।

कर्फ्यू लगाइएको तेस्रो दिनमा त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ । कर्फ्यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासनको सूचना अनुसार पूर्वतर्फ तिनाउ नदी ( बुटवल– १७ देखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ( बुटवल–१७), उत्तर शिवनगर रानीगञ्ज बस्ती (बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उप महानगरपालिका–१८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) को क्षेत्रलाई चार किल्ला मानी निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७