पूर्णिमाको यात्रा : चुल्होदेखि चुचुरोसम्म


२६ आश्विन २०७८, मंगलवार
purnima shrestha JrrDPCJ2Cf

कास्की, २६ असोज । ‘अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँच वटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो ।’

एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रूपमा आफ्नो परिचय स्थापित गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव हो यो । श्रेष्ठले यही असोज १५ (अक्टोबर १०) मा धौलागिरि हिमाल आरोहण गर्न सफल भएकी हुन् । उनीसँगै अर्की आरोही महिला पासाङल्हामु शेर्पाले पनि धौलागिरि हिमाल आरोहण गरी प्रथम महिला आरोहीको सूचीमा आफूलाई पार्न सफल भए । उनीहरू दुवै जनाले आफ्नो नाम राख्न सफल भएका हुन् ।

फरक पृष्ठभूमिबाट पनि लगातार हिमालको चुचुरोमा पुगेर कीर्तिमान राख्न सफल उनले खुशी साट्ने क्रममा भनिन्, ‘जीवनमा सधैँ सोचेको र देखेको सपनाबाट मात्र सफल भइन्छ भन्ने होइन रहेछ, मैले हिमाल चढ्ने सपना देखेकी थिइनँ तर फरक क्षेत्रबाट आफूलाई स्थापित गर्छु भन्ने सोचले चुचुरोतिर पुर्‍यायो र सफल पनि बनायो ।’

अहिले बटुलेका खुशीहरूसँग रमाइरहँदा उनी आफ्नो बाल्यकाल र विगततिर पनि फर्किइन् । ‘म घरभित्रको काममा रमाउँथे, कसैले कहीँ घुम्न जाउँ भन्दा पनि घरमा खाना पकाउनु पर्छ भनेर बसिरहन्थें, घर सफासुग्घर राख्न खुबै मन पथ्र्यो, आज म चुल्होबाट चुचुरोमा पुग्न सफल भएँ, मेरो सफलतामा साथीहरू पनि दङ्ग छन् । आफूलाई सधैँ चुनौतीको सामना गर्न मनपर्ने पूर्णिमालाई आफ्नो अनुभव नै नभएको क्षेत्रमा प्राप्त गरेको सफलताले यतिखेर दङ्ग बनाएको छ ।’

गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा २०६४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगिन् । काठमाडौंको त्यही भिडबाटै आफूलाई फरक पहिचानको खोजीमा व्यस्त बनाइन् पूर्णिमाले । बुबा आमाको सपना थियो छोरी टेलिभिजनमा समाचार पढेको हेर्ने तर छिटो बोल्ने, अशुद्ध पनि भएकाले पूर्णिमाले टेलिभिजनको पर्दामा आफूलाई सफल हुन नसक्ने निष्कर्ष आफै निकालिन् । उनमा पत्रकारिताको हुटहुटी पनि चलिरहेकै थियो ।

त्यसैले ‘फुड एन्ड वाइन’ म्याग्जिनमा समाचारदाताका रूपमा काम गरिन् । समाचारदाताहरूको पनि भीड नभएको कहाँ हो र ? तर त्यो भिड पनि छिचोल्दै जाँदा पत्रकारितामा महिला फोटो पत्रकार धेरै नभएको र तुलनात्मक रूपमा जोखिमपूर्ण पेसा लागेपछि यसबाट आफ्नो पहिचान बनाउने अभ्यासमा जुटिन् पूर्णिमा । कर्ममा विश्वास गर्ने र मेहनेत गर्ने बानीले होला पत्रकारिकातामा पैसा हुँदैन भन्नेहरूका लागि पनि गतिलो उदाहरण बन्ने हिम्मत उनमा पलाइरहेको थियो ।

‘म काममा विश्वास गर्छु, त्यसैले पनि मिडियामा केही हुन्न भन्नेका लागि आफ्नै कमाइमा पनि स्तरीय जीवन व्यतित गरेर देखाँउछु भन्ने लाग्थ्यो’, उनी भन्छिन् । पूर्णिमाले आफ्नै पारिश्रमिकबाट तीन लाख रुपैयाँको क्यामेरा किनिन् । यसै सिलसिलामा सन् २०१७ मा इन्जा रिपोर्टिङमा गएकी साथी सृष्टि काफ्लेले सर्वोच्च शिखर सगरमाथाको सौन्दर्यको बयान गरिदिएपछि पूर्णिमालाई त्यति नै बेला उडेरै सगरमाथा पुगुँझै लाग्यो तर आरोहीका रूपमा होइन फोटो पत्रकारका रूपमा । उनलाई मोह जाग्यो, कहिले हिमालमा पुगुँला र सुन्दर दृष्य क्यामेरामा कैद गरुँ भनेर । अब उनले सगरमाथा बेस क्याम्प पुग्ने बाटोहरूको खोजी गर्न थालिन् ।

सन् २०१७ मा एभरेस्ट म्याराथन गराउने कम्पनीका सञ्चालक विक्रम पाँणेकाजीलाई पाँच महिनाअघि देखि नै सम्पर्क गरिन् । आफू ‘अफिसियल फोटोग्राफर’ का रूपमा त्यहाँ पुग्न चाहेको र जसरी पनि सहभागी गराउन अनुरोध गरिन् । आयोजकले दुब्ली पातली पूर्णिमालाई विभिन्न कठिनाइ देखाइरहे तर उनको आत्मविश्वासको अगाडि कम्पनी पनि बाध्य भयो । सम्पूर्ण प्रक्रिया पूरा गरेर उनलाई बेस क्याम्पसम्मको कार्यक्रममा सहभागी गरायो ।

यसरी पूर्णिमालाई पहिलो पटक हिउँसँग स्पर्श गर्ने अवसर प्राप्त भयो । नेपाल हिमालै हिमालको देश रहेछ भन्ने तथ्यलाई भित्रैदेखि अनुभूति गर्ने अवसर त्यति बेला मिलेको उनी सुनाउँछिन् । त्यही बेस क्याम्पसम्मको अनुभव नै उनलाई हिमालको चुचुरोमा पुर्‍याउने सशक्त आधार बन्यो । मनमा हिमाल उक्लने चाहना बढ्न थाल्यो । हिमाल आरोहणका बारेमा सिक्न र जान्न मन लाग्न थाल्यो । एक दिन साथीभाइ माझ सगरमाथा चढ्छु भन्दा पूर्णिमा हाँसोको पात्र समेत बनिन् । ‘स्वाभाविक पनि हो बेस क्याम्पको यात्रा छिचोल्न निकै सास्ती भएर घोडाको सहारा लिन पुगेको मान्छे सगरमाथाको चुचुरोमा पुग्छुभन्दा पत्याउने कुरै भएन’, उनी सम्झिन्छिन् ।

धेरैले उनलाई हिमाल आरोहणमा सोचे जसरी प्रेरित भने गरेनन् । किन चढ्ने हिमाल ? हिमाल चढेर के हुन्छ ? भन्नेको संख्या निकै धेरै थियो तर त्यसको उत्तर उहाँसँग थिएन । फेरि त्यसबीचमा निकै कमले मात्र भित्री इच्छालाई बुझेर त्यो आँटलाई पूरा गर्नुपर्छ भनेर हौसला दिन्थे । पूर्णिमाले आफ्नो चाहना पूरा गर्ने प्रयास जारी राखिन् । उनलाई ननिदाइ देख्ने सपनाको नसा लागिसकेको थियो । त्यसैले त्यो सपना पूरा गर्न उनी कैयौं रात जागै बसेकी छिन् ।

दिनदिनै जागेको यही भोक मेटाउन एक दिन हिमाल आरोहण कम्पनीको मानिसलाई आफ्नो सगरमाथा चढ्ने इच्छा सुनाइन् । सगरमाथा चढ्नुअघि ६ हजार मिटर चुुचुरो चढ्नुपर्ने सुझाव पाएपछि उनी त्यसको तयारीतिर लागिन् । ‘मलाई यसरी तालिम विना नै सहजै हिमाल चढ्छु भन्ने आँट कसरी आयो होला ?’, यो आफ्नै प्रश्नको जवाफ उनले अहिलेसम्म पनि पाएकी छैनन् ।

उनी अहिले पनि अनुत्तरित प्रश्नमै रोकिन्छिन् । आर्थिक पाटोको समस्या पनि उस्तै थियो । यसबीचमा आफू अध्ययरत स्कुलका भाइबहिनीले खाजा रकम जोगाएर दिएको सहयोग रकमदेखि साथीहरूले आफ्नो रहर पैसाले रोक्नु हुँदैन भन्दै दिएको ऋणसम्म गरेर चार लाख रुपैयाँ, विभिन्न शुभचिन्तकबाट प्राप्त साथ सहयोग र शुभेच्छाले मानसिक रूपमा त उनले चुचुरो चढिसकेकी थिइन् । सशरीर मात्र त्यहाँ पुग्न बाँकी थियो । अन्ततः आमा बुबादेखि सम्पूर्णको आशीर्वाद लिएर सन् २०१७ सेप्टेम्बर पहिलो हप्ता मनास्लु हिमाल आरोहण दलमा सहभागी भएर चुचुरोतिर उनका पाइला लम्के ।

विभिन्न कठिनाइ हन्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा उनी असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भइन् । जीवनको पहिलो हिमाल आरोहणको अनुभव उनले मनास्लु हिमालबाट लिइन् । त्यसपछि उनको आत्मविश्वास हिमाल जस्तै अग्लिँदै गयो । सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् ।

त्यसैगरी सन् २०२१ अप्रिलमा अन्नपूर्ण प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको अनुभव बटुलिन् । धौलागिरि हिमाल उनी दोस्रो प्रयासमा सफल भइन् । ‘हिमाल आरोहण मृत्यु बोकेर हिँडेको यात्रा हो, कति बेला कहाँ के हुन्छ थाहा छैन तर त्यही जोखिम र चुनौतीबीच प्राप्त खुशी र आनन्द सबैभन्दा ठूलो उपलब्धि हो’, श्रेष्ठ भनिन्, ‘हिमाल चढेको खुशी सम्झिरहँदा यसको ऋण सकेसम्म नसम्झनु परे हुन्थ्यो जस्तो लाग्छ ।’ उनले साथीभाइसँग ऋण लिएर हिमाल चढेको र कम्पनी र गाइडलाई बुझाउने पैसाको अभाव भएको प्रसङ्ग पनि जोड्न छुटाइनन् ।

धनभन्दा अघि मन सारेर बटुलेको इच्छाशक्तिले आरोहणमा सफलता मिलेको स्मरण गर्दै उनले हिमाल चढ्दाका प्रत्येक पाइला याद रहेको बताइन् । ‘जति मेहनत गर्‍यो उत्ति सफलता हात पर्छ भन्ने यथार्थ भोगाइलाई आत्मसात् गर्न पाएँ’, श्रेष्ठले भनिन् । उनले यसअघि अन्नपूर्ण प्रथम आरोहण गर्नुपूर्वको तयारी राम्रो भएकाले आर्थिक बोझ कम भएको सुनाइन् । ‘

अन्नपूर्ण प्रथमका लागि प्रदेश सरकारको पनि सहयोग रहेकाले दिल खोलेर खुशी साट्न पाएको थिएँ तर अहिले धौलागिरि हिमाल भने ऋणमै पुगेर आएँ’, उनले भनिन्, ‘उमेर छ, समय पनि छ, कुनै दिन तिर्न सकुँला नि भनेर बसेकी छु ।’ उनले सबैको जीवनमा एउटा–एउटा सगरमाथा हुने र त्यो चढ्न निकै गाह्रो हुने अनुभव सुनाइन् । आफ्नो जीवनमा हिमाल नै ऊर्जा भएकाले अब जस्तै कठिन अवस्था आए पनि सहजै पार लगाउन सक्छु भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ । यतिखेर सफलतामा आएका समाचार र साथीभाइका शुभकामना पनि आफ्नो १० लाख रुपैयाँ ऋण भने भित्रभित्रै सम्झिरहने उनी बताउँछिन् ।

हिमाल आरोहणको यात्रामा आफू नथाक्ने यात्री भएकाले निरन्तरता दिने योजना उनको छ । नेपालका आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा, ल्होत्से र मकालु एकै याममा चढ्ने योजना बनाइरहेकी श्रेष्ठले ‘किलर माउन्टेन’ भनेर चिनिने केटु हिमाल भने साँचेर राख्ने र चढ्न हतार नगर्ने बताइन् । ‘केटु हिमाल साँचेर राखेको सपना हो, हतार गर्दिनँ’, उनले भनिन् ।

पत्रकारितामा स्नातकोत्तर गरेकी श्रेष्ठले आफूभित्रको विशेष क्षमताको समयमै पहिचान गर्न आफू सफल भएको बताइन् । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा ब्रान्डिङ गर्न पर्वतारोहण पर्यटनलाई जोड दिन उनको सुझाव छ । नेपालमा रहेका अनगिन्ती चुचुरोहरू प्रचारप्रसारको अभावमा ओझेलमा रहेको बताउँदै सरकारले देशका हरेक हिमालको पहिचान र परिचयबाहिर ल्याएर विशेष नीति निर्माणसहित यसको प्रवर्द्धनमा जोड दिनुपर्ने पूर्णिमा सुझाव दिन्छिन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७