प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : नेता सिंह


२६ आश्विन २०७८, मंगलवार
prakashman

रुपन्देही, २६ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा गठबन्धनसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

रुपन्देहीको बुटवलमा मंगलबार आयोजित कार्यक्रममा उनले कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमाललाई उद्योग वाणिज्य मन्त्री बनाइएको बारेमा जबरा र गठबन्धनका नेताहरुले स्पष्टीकरण दिनुपर्ने बताएका हुन् । हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने नेता सिंहको भनाइ छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको गल्तीको स्पष्टीकरण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुपरेको बताए ।

‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,’ नेता सिंहले भने, ‘प्रचण्डजीले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु प¥यो नि । यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टीकरण दिनुपर्छ ।’

उनले प्रधानमन्त्री देउवालाई आफू प्रधानमन्त्री हुँदा भएको आईजीपी काण्ड र प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि आग्रह गरे । कांग्रेससँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको सिंहको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले मोतीपुर घटनाको यथार्थ सार्वजनिक गर्न माग गरे । गोली लागेर चार जनाको ज्यान जानु दुःखद भन्दै सिंहले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाए । पैदल हिँडेर न्याय माग्न माइतीघर मण्डला पुगेका माथि प्रहरी लगाएको भन्दै उनले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्री देउवाले जनताको दुःखलाई वेवास्ता गरेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७