‘त्रिपालको गाउँ’ मा दशैंको पीडा


प्रकाशित मिति : October 13, 2021

झापा, २७ असोज । कमल–५ का सुकुम्बासी काशीराम विश्वकर्माले यसपटक जमरा राखेनन् । उनको परिवारमा दशैं नआएको दुई वर्ष भयो । कमल–५ स्थित सशस्त्र प्रहरीको जग्गामा बसेको भन्दै ०७६ फागुनमा घर भत्काएपछि उनको परिवार त्रिपाल लगाएर बनाएको टहरमा बस्दै आएको छ । ‘यस्तो ठाउँमा के दशैं मनाउन सकिन्छ, त्यसैले जमरा राखिएन,’ उनी भन्छन्, ‘बिहान बेलुका खान त पुग्दैन के दशैं आउँछ र हाम्रो घरमा ।’

२०६० सालतिर तत्कालीन माओवादीको सशस्त्र युद्ध उत्कर्षमा थियो । शसस्त्र प्रहरीले रतुवामाई वृक्षारोपण आयोजनाको जग्गा भोगाधिकार लिई त्यहाँ बसेको थियो । त्यसवेला त्यहाँ सशस्त्रको पाथिभरा गण थियो । तर, अहिले त्यहाँ सशस्त्र प्रहरीको ३८ नम्बर गण र तालिम केन्द्र छ । त्यसवेला उनीहरूले सुरक्षाका लागि सुकुम्बासीलाई करिब ८० विघा जग्गा भोगचलनका लागि दिएका थिए । प्रहरीको सुरक्षाका लागि राखिएका उनीहरू अहिले ‘अवैध’ ठहरिए । विश्वकर्मा पहिल्यैदेखि सुकुम्बासी हुन् ।

दश वर्षअघि ताप्लेजुङमा जग्गा बन्धकी लगाएको पैसा फिर्ता मागेर यहाँ आएर बसेका थिए । तर, दुई वर्षअघि उनको घरमा डोजर चलेपछि त्रिपालमुनि छन् । अघिल्लो दशैं पनि मनाउन पाएनन्, उनले । घरमा चार जना छोराछोरी छन् । दशैंमा नयाँ लुगा किन्न लगाइरहे पनि किन्दिन नसकिएको उनले बताए । ‘दशैं भन्ने वितिकै केटाकेटीले लुगा निन्दिनु भनेर साह्रै जिद्दी गर्छन्,’ उनी भन्छन्, ‘मजदुरी गरेको पैसाले खान पनि पुग्दैन । दशैंमा मिठोमसिनो खुवाउन पनि सकिनँ ।’

मजदुर गरेर कमाएर ल्याएकोले खाना पनि पुग्दैन, उनको परिवारलाई । त्रिपालमुनि बस्दा पनि सुख छैन । जंगलको छेउमा भएकाले दैनिकजसो हात्ती आइरहन्छ । ‘खोलामा बालुवा चालेर ल्याएको पैसाले किनेको दाल चामल हात्तीले खाइहाल्छ,’ विश्वकर्मा भन्छन्, ‘साह्रै गाह्रो छ ।’ यो सबै पीडा खप्न नसकेर यसपटक भने उनी नजिकै गाउँमा भाडा तिरेर डेरा सर्ने योजनामा छन् । ‘महिनाको एक हजार तिर्ने घर खोजेको छु । हात्तीले मार्छ कि भन्ने डर भयो,’ उनी भन्छिन्, ‘बरू दुःख गरेर एक हजार तिरेर घरमा बस्छु ।’

त्रिपालमुनि बसेकी पवित्रा वेघालाई पनि दशैं नआएको दुई वर्ष भयो । घरभरि केटाकेटी छन् । उनले नयाँ लुगा किनिदिन पनि सकेकी छैनन् । ‘केटाकेटीले दशैं आयो भन्छन् । हामीलाई त वास्ता छैन । तर, केटाकेटीलाई सम्झाउनै गाह्रो छ,’ उनी भन्छिन्, ‘घरमा खाने त छैन दशैं कसरी मनाउने ?’ सशस्त्र प्रहरीलाई विघाको वार्षिक आठ हजार ठेक्का तिरेर तीन विघा खेती गर्दै आएकी थिइन् । तर, केही वर्षयता ठेक्का तिरेर पनि सशस्त्र प्रहरीले खेती खेती गर्न दिएको छैन । ‘खेती गर्दा त घरमा टन्न खाने हुन्थ्यो । दशैं राम्रो आउँथ्यो,’ उनले भनिन्, ‘धान बेचेर भए पनि केटाकेटीलाई राम्रो लुगा र मिठो मसिनो खान दिन सकिन्थ्यो । अहिले त त्यो पनि छैन । हामी गरिबलाई त यस्तो चाडवाड पनि नआएकै राम्रो ।’


विगतमा उनी दशैँमा आफन्त भेट्न जान्थिन् । तर, त्रिपालमुनि भएकाले अघिल्लो दशैँमा पनि आफन्त भेट्न जान पाइनन् । यसपटक पनि जान पाउने छाँटकाँट छैन । हात्तीले त्रिपालमुनि राखेको खाद्यन्न खाइदिने र घर भत्काउने गरेका कारण उनी टहरा छाडेर कतै जान्नन् । ‘अर्काले किनेको त्रिपालले घर बनाएका थियौं । यही पनि कतिपटक हातीले भत्काइदियो,’ उनी भन्छिन्, ‘अन्त जाने ठाउँ छैन । ज्यानको बाजी राखेर भए पनि बसेका छौँ ।’

त्रिपालमुनि नै बसेको भए पनि दशैँमा आफन्त आइहाल्नछन् । सुकुम्बासीलाई आफूलाई छाक टार्न पनि मुस्किल छ । पाउन आउँदा झनै समस्या हुने गरेको खड्गदेवी लिम्बू बताउँछिन् । ‘खेती गर्न पनि पाएका छैनौं । बनीबुतो गरेर खान पनि राम्ररी पुग्दैन । यस्तो वेलामा चाडवाड त नआएकै राम्रो,’ उनी भन्छिन्, ‘यस्तो घर भए पनि पाहुना त आउँछन् । भन्न पो हुँदैन त ! पाहुना आउँदा टाउको फुल्छ नि ! कहाँ सुताउने ? के खुवाउने साह्रै गाह्रो छ ।’

विगतदेखि नै मनाउँदै आएको चाडपर्व आउँदा परिवारमा खुसी छाउँछ । तर, किनमेल गर्न नसक्दा, केटाकेटीलाई मीठो मसिनो खुवाउन नसक्दा साह्रै दुःख लाग्ने गरेको सुकुम्बासी शेरबहादुर लिम्बू बताउँछन् । उनका घरमा चार जना छोराछोरी छन् । उनले यस पटकको दशैँमा ऋण गरेर छोराछोरीका लागि लुगाकपडा किनिदिएको बताए। ‘दशैँमा हामीलाई त वास्ता छैन । तर, केटाकेटी मान्दैनन्,’ उनी भन्छन्, ‘ऋण गरेर लुगाकपडा किनिदिएँ । अब दशैँ सकिएपछि ऋण कसरी तिर्ने हो ? तनाब भएको छ ।’

सशस्त्र प्रहरीले घर भत्काएपछि त्रिपाल टाँगेर बसेको यो बस्तीमा दुई वर्षदेखि दशैँ आउन सकेको छैन । घर भत्काउँदा यहाँ ५२ घर परिवार बसोबास गर्थे । गत वर्ष हात्तीले एक जनाको ज्यान लिएपछि भने डराएर अधिकांशले ठाउँ छाडेका छन् । उनीहरू डेरा गरेर दुःख गरेर खाइरहेको शेरबहादुर बताउँछन् । अब यो बस्तीमा करिब १५ घर सुकुम्बासीले त्रिपालमुनिको जीवन बिताइरहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्