नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच जना समातिए


२८ आश्विन २०७८, बिहीबार
pakrau
फाइल फोटो

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेका थिए ।

उनीहरूको सञ्जाल पहिल्याउने क्रममा थप पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए । धनकुटा, सुनसरी र काठमाडौंबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का २६ वर्षीय विशाल तामाङ, ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ घर भई हिले बस्दै आएका २६ वर्षीय छितेन तामाङ, हिलेकै २४ वर्षीय सोनम तामाङ, महालक्ष्मी नगरपालिका–८ का २६ वर्षीय सुमन खड्का, महालक्ष्मी–९ का २४ वर्षीय तुलसी खवास र सोही स्थानका २१ वर्षीय विकास तामाङ छन् ।

सुरुमा विशाल र छितेन नक्कली नोटसहित मूलघाटबाट पक्राउ परेपछि बाँकी पाँच युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुमनले हिलेमा डार्बिन फार्मेसी सञ्चालन गर्दै आएका छन् भने तुलसी र विकास गाडी चालक हुन् । धनकुटा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ ।

सोनम र सुमनलाई हिलेबाट, तुलसीलाई सिधुवा, विक्रमलाई इटहरी र विकासलाई काठमाडौंबाट पक्राउ गरिएको डिएसपी रायले जानकारी दिए । उनीहरुको साथबाट १ लाख नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुरुमा दुई जना पक्राउ परेपछि सुमनले आफू पनि पक्राउ पर्न सक्ने डरले प्रमाण नष्ट गर्न एक लाख रुपैयाँ नक्कली नोट जलाएर नष्ट पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७