उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’


२८ आश्विन २०७८, बिहीबार
North Korea AFP1634144097

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् ।

उत्तर कोरियाको लागि मानव अधिकार सम्बन्धी विशेष दूत टमस ओजा क्वीन्टानले खाद्यान्न अभावका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र कोभिड ब्लकेड (नाकाबन्दी) जिम्मेवार रहेको बताएका हुन् । परिणामस्वरूप उत्तर कोरियालीहरूले ‘मर्यादित जीवन जिउन’ दैनिक संघर्ष गरिरहेका क्वीन्टानले बताए । संकटबाट जोगिन उत्तर कोरियाको परमाणु कार्यक्रममाथि लगाइएको प्रतिबन्धहरू हटाउनुपर्ने उनको भनाइ छ ।

उत्तर कोरिया गम्भीर आर्थिक संकटमा रहेको ठानिएको छ । उसले कोभिड–१९ फैलन नदिन आफ्ना सीमाहरू बन्द गरेको छ । फलस्वरूप चीनसँगको व्यापारमा गिरावट आएको छ । उत्तर कोरिया खाद्यान्न, मल र इन्धनमा चीनमाथि निर्भर छ ।
यसै हप्ता नेता किम जोङ उनले देशले एक गम्भीर स्थितिको सामना गरिरहेको स्वीकार गरेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको थियो । उत्तर कोरियामा मूल्यवृद्धि भएको खबरहरू आएका थिए । एनके न्यूजले गत जुनमा एक किलोग्राम केराको मूल्य ४५ डलर पुगेको जनाएको थियो ।

पछिल्लो प्रतिवेदनमा विशेष दूत क्वीन्टानले सुरक्षा परिषद्को अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुकुलो पार्नुपर्ने र मानवीय एवम् जीवन रक्षक सहायतालाई अनुमति दिनुपर्ने बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको बारम्बार बताउँदै आएको छ । तर प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङयाङले परमाणु हतियार त्याग गर्नुपर्ने माग राखेको छ । उत्तर कोरियाले अहिलेसम्म त्यसलाई अस्वीकार गरेको छ ।

यसै हप्ताको सुरुतिर नेता किमले अमेरिकाको नियतमाथि प्रश्न गर्दै आत्मरक्षाका लागि हतियार निर्माण जारी राख्नु जरुरी रहेको बताएका थिए । आर्थिक संकटको बाबजुद उत्तर कोरियाले हतियार र क्षेप्यास्त्र निर्माण जारी राखेको छ । उसले हालै परीक्षण गरेको हतियार एक नयाँ हाइपरसोनिक र एन्टी एयर क्राफ्ट क्षेप्यास्त्र भएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७