दशैं मनाउन गृह जिल्ला झापा पुगेका ओलीले भने, ‘यो सरकार सट्टापट्टाको’


२८ आश्विन २०७८, बिहीबार

झापा, २८ असोज । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ।

गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा काम हुने गरेको बताए । यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भएको भन्दै उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु के–के भएको थियो, पछि देखिएला ।’

भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका थिए । ओलीलाई स्वागत गर्न प्रदेश–१ का मुख्यमन्त्री भिम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो । भद्रपुरबाट ओली आफन्तसँग भेटघाट गर्न झापा गाउँपालिकातर्फ गएका छन् । भेटघाट सकेर उनी आजै बिर्तामोडमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७