कार र मोटरसाइकल जुध्दा दुईको मृत्यु, तीन घाइते


२८ आश्विन २०७८, बिहीबार
kc

बारा, २८ असोज । बाराको कोल्हवीमा कार र मोटरसाइकल जुध्दा दुई जनाको ज्यान गएको छ । कार चालकसहित ती जना घाइते भएका छन् । कोल्हबी नगरपालिकामा पर्ने कोल्हबी तामागढी सडकखण्डमा बुधबार राति साढे ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक बाराको कोल्हबी नगरपालिका–२ का ३८ वर्षीय पेमा दोर्जे घिसिङ र मोटरसाइकलमा सवार त्यहि ठाँउका ४० वर्षीय डेनी स्याङताङबो रहेका छन् ।

तामागढीबाट कोल्हबीतिर गइरहेको बा ११ च ४५११ नम्बरको कारले विपरित दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकलमा सवार घिसिङ र स्याङताङबो दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

घाइते हुनेहरुमा कारका चालक कोल्हबी–२ का ४५ वर्षीय बद्री अधिकारी, कारमा सवार १८ वर्षीय रोहीत पण्डित र २५ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

घाइते कार चालक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहीबार बिहान कोल्हबी बजारमा प्रदर्शन पनि गरेका थिए ।उनीहरुले केहिबेर सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए । अहिले भने बजारको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७