दशैं नेपालीको जीवन पद्दतिसँग जोडिएको पर्व : राष्ट्रपति


२९ आश्विन २०७८, शुक्रबार
bidhya 1

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं–२०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होशियारीपूर्वक दशैं पर्व मनाउनका लागि सबैमा आग्रह पनि गरेकी छन् ।

बडादशैं आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुशीयालीमा मनाइने विजया दशमीको पर्वको विशेष महत्व रहेको बताएकी छन् ।

‘वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दशैं पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ’, सन्देशमा भनिएको छ, ‘यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७