गुल्मी पाँचरातेमा जीप दुर्घटना : तीन जनाको गयो ज्यान, ६ घाइते


२९ आश्विन २०७८, शुक्रबार
accident

गुल्मी, २९ असोज । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गए राति रेसुङ्गा नगरपालिका–१० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका–२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारीकी १९ वर्षकी संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिए । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा गए राति नै ज्यान गएको हो ।

दुर्घटनामा परी जीप चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार, राधा केसी र राजु थापा घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुमध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एक जनाको भने गुल्मी अस्पताल तम्घासमा नै उपचार भइरहेको छ । जीप अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७