भुटानी प्रधानमन्त्रीले शुभकामना दिंदै भने, ‘भुटानको दशैं विशेष भएको छ’


२९ आश्विन २०७८, शुक्रबार
bhutan king

काठमाडौं, २९ असोज । भुटानका प्रधानमन्त्री लोटे छिरिङले दशैंको अवसरमा नेपालीसहित नेपालीभाषीहरुलाई शुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत् उनले शुभकामना दिएका हुन् ।

‘महत्वपूर्ण चाड दशैंमा सबै आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीमा म र मेरो परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यस विशेष चाडमा सबैको सुख शान्ति र समृद्धिको कामना गर्दछौं’, छिरिङले भिडियोमार्फत् भनेका छन् ।

साथै यस वर्ष भुटानको दशैं पर्व विशेष रहेको पनि उनले बताएका छन् । भुटानका राजा–रानीले विवाह गरेको १० वर्षको अवसरमा यस वर्षको दशैं विशेष भएको उनले बताएका छन् ।

‘भुटानमा यस वर्षको दशैं विशेष भएको छ । यसपटक श्री ५ महाराजधिराज र महारानीको विवाह भएको १० वर्ष पुगेको छ । उहाँहरुले हामीलाई सुख दिन धेरै मेहनत गर्नुभयो । जसको लागि उहाँहरुलाई हामीले सधैँ धन्यवाद दिएका छौं । साथै उहाँहरुले हामीलाई राजकुमार दिनुभएकोमा हामी खुशी छौं’, प्रधानमन्त्री छिरिङले भनेका छन् ।

यस्तै कोभिड महामारीका कारण भेटघाट गर्न र टीका लगाउन सुरक्षित नहुने भएकाले संयम् भएर दशैं मनाउन उनले आग्रह गरेका छन् । कोभिड संक्रमणबाट अति कम क्षति भएका विश्वभरका देशमध्ये भुटान पनि एक हो । प्रधानमन्त्री छिरिङले शुभकामना सन्देशको क्रममा आफ्ना राजाको आशिर्वादका कारण क्षति बढ्न नपाएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७