धनुषाका हिन्दु–मुस्लिमले सामुहिक रुपमा लगाए दशैंको टीका


३० आश्विन २०७८, शनिबार
download kJaQVwktbs

धनुषा, ३० असोज । धनुषाको धनुषाधाम नगरपालिकामा स्थानीय हिन्दु मुस्लिम समुदायले सामुहिकरुपमा दशैंको टीका लगाएका छन् ।

धनुषाधाम– ५ नौ सय बिघाका हिन्दु–मुस्लिम समुदायले शुक्रबार एकापसमा मिलेर दशैंको टीका लगाउनुको साथै शुभकमना आदानप्रदान गरेका छन् ।

दशैंको टीका लगाउने शुभ साइतमा उनीहरुले टीका लगाएका हुन् । ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरिएको टीका कार्यक्रममा हिन्दुले मुस्लिमलाई र मुस्लिमले हिन्दुलाई दशैंको टीका लगाएर शुभकामना आदानप्रदान गरेका धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए ।

मेयर मण्डलले पनि कार्यक्रममा उपस्थित हिन्दु–मुस्लिम समुदायका नागरिकलाई टीका र जमरा लगाएर आशिर्वाद दिएका थिए । सामुहिक टीका कार्यक्रममा तीन सय धन्दा धेरैको उपस्थित थियो । कार्यक्रममा करिब ६० जना मुस्लिम समुदायका नागरिकले दशैंको टीका लगाएका थिए ।

मेयर मण्डलले नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै धर्म, संस्कृति र परम्परालाई एकअर्को समुदायले सम्मान गर्नुपर्ने बताए । कार्यक्रमका संयोजक शंकर यादवले हिन्दु समुदायले मात्र दशैंमा टीका लगाउने चलनलाई मधेशी तथा अन्य समुदायले सम्मानका साथ ग्रहण गरुन् भनेर सामुहिक टीका कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७