अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला : मृतक संख्या ४७ पुग्यो, ७० बढी घाइते


३० आश्विन २०७८, शनिबार
afghan bisphot UME6fuCdam

काबुल, ३० असोज । अफगानिस्तानको कान्दहार शहरमा अवस्थित एउटा शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेको ४७ जना पुगेको छ ।

विस्फोटमा ७० जना भन्दा धेरै घाइते भएका अधिकारीहरुले जनाएका छन् । शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा आत्मघाती बम बिस्फोट भएको थियो । उक्त बिस्फोटमा ज्यान गुमाउनेको संख्या ४७ पुगेको अलजजिराले जनाएको छ ।

तीन जना आक्रमणकारीले मस्जिदमा पुगेपछि आत्मघाती बम हमला गरेका प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र प्रवेश गरेर बिस्फोट गराएका त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

ठूलो समूह शुक्रबार साप्ताहिक प्रार्थनामा सहभागी भएको बेला बिस्फोट गराइएको हो । अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । एक साता अघि पनि अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा रहेको शिया मस्जिदमा विष्फोट हुँदा एक सय जनाको मृत्यु भएको थियो ।

सो घटनाको जिम्मा भने आतंकवादी संगठन आईएस–केले लिएको थियो । कान्दहारमा शुक्रबार भएको आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७