साफ फाइनलअघि नेपाललाई झड्का : प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध


३० आश्विन २०७८, शनिबार
almutiri football srGGshXZ0M

काठमाडौं, ३० असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

दक्षिण एसियाली फुटबल (साफ) ले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ । खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको एन्फा स्रोतले जनाएको छ । तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

साफको नयाँ नियमकै कारण अलमुताइरीले फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फरेन्समा अनुपस्थित भएको बुझिएको छ । खराब मौसमका कारण भर्चुअल रुपमा आयोजना गरिएको प्रिम्याच कन्फरेन्समा अलमुताइरीका स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको रणनीति र योजनाका बारेमा बोकेका थिए ।

एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन नियमावलीमा कुनैपनि व्यक्तिले कुनै पनि प्रतियोगिताका दौरान दुई खेलमा पहेंलो कार्ड भएमा अर्को खेल गुमाउने उल्लेख छ । सो नियमावलीमा प्रतियोगिताका आयोजकले आफ्नै नियम बनाएमा त्यसलाई परिवर्तन गर्न सकिने उल्लेख छ । साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्ड पाएमा प्रतिबन्ध लगाउन सकिने भन्ने उल्लेख गरिएको छैन ।

प्रमुख प्रशिक्षक अलमुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्धको खेलका क्रममा पहेंलो कार्ड पाएका थिए। यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका स्ट्राइकर अञ्जन विष्टले पनि फाइनल खेल गुमाउने भएका छन् । यसैगरी भारतका प्रशिक्षक इगोर स्टिमाचले फाइनलमा प्रतिबन्ध भोगेका छन् ।

स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए । स्टिमाचसँगै अलमुताइरीलाई पनि प्रतिबन्ध गरेकाले नेपाल र भारतले मुख्य प्रशिक्षकबिना नै फाइनल खेल खेल्नुपर्ने भएको छ । भारतीय प्रशिक्षक स्टिमाच र नेपाली समकक्षी अलमुताइरी दुवैले खेल दौरान बेञ्च मात्र होइन, टोलीको ड्रेसिङ रुममा पनि जान पाउने छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७