व्यावसायिक पशुपालन फस्टाउँदै


३० आश्विन २०७८, शनिबार
Buffalow
फाइल फोटो

कास्की, ३० असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमुखी कृषि गर्दै आएका कृषकहरूले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैंसी तथा बाख्रापालन सुरु गरेपछि व्यावसायिकता विकास भएको हो ।

गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरू उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् ।

गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । सङ्घ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।

यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई-तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।

नौ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्याङ्क गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरेपनि ठूला कृषकहरूले आफै बजार खोज्ने गरेका छन् ।

गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा बिक्री भएको बताइन्छ । पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध बिक्री गर्ने कृषकहरू बढी छन् ।’
नौ वटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।

लाहाचोकबाट मात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ ।

त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जनाइएको छ । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मूल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् ।

उनले भने, ‘गाई भैसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मूल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’

लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैंसीफार्म सुरु गरेपछि गाउँपालिकामा व्यावसायिक पशुपालनमा सुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० भैंसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।

व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् । उनका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैंसी संरक्षण कार्यक्रम, एक वटा गाई-भैंसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको छ ।

उनले भनिन्, ‘हाम्रो गाउँपालिका पशुपालनमा समृद्ध बन्दै जिल्लामै दूध उत्पादनमा अग्रणी छ । हाम्रो तर्फबाट समेत कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोगको नीति लिएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७