अलमुताइरीको आक्रोश : साफलाई नेपालले नजितोस् भन्ने छ


३० आश्विन २०७८, शनिबार
kdfmkdgmfgm1633776232

काठमाडौं, ३० असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतिबन्धप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन् ।

अलमुताइरीले आफ्नै नियमको उल्लंघन गर्दै अन्यायपूर्ण निर्णय गर्ने साफबाट के अपेक्षा गर्ने भन्ने प्रश्न गरेका छन् । ‘साफले नियम मान्नु पर्छ । मलाई लाग्छ साफले एक पक्षीय निर्णय गरेको छ । किन मेरा लागि आफ्नै नियमको सम्मान गरेन’, उनले भने, ‘खेल मैदानभित्र खेल्ने हो, मैदान बाहिर होइन । साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारवाही गर्नु उचित भएन ।’

उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए । उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे । ‘साफको निर्णयले मलाई निकै दुःख लागेको छ । साफले ममाथि किन निशाना साँधेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘मलाई किन यस्तो व्यवहार गरियो । मैले बुझ्न सकेको छैन ।’

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास) मा समेत जाने उनले बताए । ‘यो निर्णय सही भएन । मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो । यो सरासर अन्यायपूर्ण निर्णय हो ।’

प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ । खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो ।

उनले आफू मैदानभित्र नभए पनि टोलीले उपाधिका लागि उत्कृष्ट खेल खेल्ने बताए । ‘साफलाई नेपालको नतिजा मन परेको छैन । म त्यहाँ भए पनि नभए पनि टोलीले उपाधिका लागि खेल्ने छ’, उनले भने । अलमुताइरीले साफको नियमावली राख्दै साफको निर्णय न्यायसंगत नभएको बताएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको एन्फा स्रोतले जनाएको छ । तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

साफ च्याम्पियनसिपको उापधिका लागि नेपालले शनिबार राति भारतको सामना गर्दैछ । माल्दिभ्सको राजधानी मालेमा हुने फाइनल खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७