‘डेप्थ साउण्डर’ मेशिन प्रयोग गरी नापियो गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ


३० आश्विन २०७८, शनिबार
goshainkunda 2 LV51JclLjj

रसुवा, ३० असोज । रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड र भैरव कुण्डको गहिराइ नापिएको छ । ‘डेप्थ साउण्डर’ मेशिनको प्रयोग गरेर दुई वटा कुण्डको गहिराइ नापिएको हो । उच्च हिमाली क्षेत्रहरूमा ताल तलैया, पोखरीहरूमा कति पानी छ भनेर नाप्नका लागि डेप्थ साउण्डर मेशिन प्रयोग गरिने प्राविधिकहरुले जानकारी दिएका छन् ।

जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रियाबारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नापेको हो । अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जना (आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी) को टिमले डुङ्गामा तालको कुना कुनासम्म गएर गहिराइ नापेको थियो ।

goshainkunda3 DyxnSygxny

‘हामीले दुईवटा कुण्डको गहिराइ नापेका छौं’, अनुसन्धानकर्ता बासुदेव न्यौपानेले भने, ‘अन्य १६ वटा ताल–समूह श्रृङखलाको जीपीएस लोकेशन लिइएको छ ।’ डेप्थ साउण्डरले लिएको डाटालाई जीआईएसमा राखेर विश्लेषण गर्ने काम बाँकी छ । विश्लेषणको काम सकिएपछि कति गहिराइ छ भनेर भन्न सकिने उनको भनाइ छ ।

यस अध्ययनले यस क्षेत्रमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न, थप अध्ययन अनुसन्धान गर्न सहज हुने छ भने पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेशन टुरिजमको अवधारणालाई सहयोग पुग्ने छ । गोसाइँकुण्ड वरिपरि रहेको कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्वपूर्ण भएकाले पनि अनुसन्धान आवश्यक रहेको उनले बताए ।

गोसाइँकुण्ड र भैरवकुण्डको पानीमा क्षारको मात्रा बढी
तालको गहिराइको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नापेको छ । गोसाइँकुण्डको पानीको स्रोतमा त्रिशूलधाराबाट आएको ठाउँ, माथिको तालहरूबाट आएको क्षेत्र, गोसाइँकुण्डको बीच भाग, गोसाइँकुण्डको मन्दिरपटिको क्षेत्र, गोसाइँकुण्डबाट पानी निस्कने क्षेत्रमा पानीको गुणस्तर नापिएको उनले बताएका छन् । गोसाइँकुण्ड र भैरवकुण्डको पानीमा क्षारको मात्रा बढी पाइएको छ ।

एकेडेमीले हरेक वर्ष हिमाली क्षेत्रहरूमा विभिन्न अध्ययन अनुसन्धान गर्न मान्छेहरू छान्ने गरेको छ । गोसाइँकुण्ड वरपर १६ वटा कुण्ड पनि रहेका छन् । गोसाइँकुण्ड वरपर रहेका कुण्डमा सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, गणेश कुण्ड, चन्द्रकुण्ड, क्युमाछोकुण्ड, रक्तकुण्ड, बतासकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, रानीकुण्ड, ब्रदकुण्ड लगायतका छन् ।

धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चार वटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीन वटा मुख्य बाटो छ ।

काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७