४६ करोड लागतको नवलपुर सब-स्टेसनको काम अन्तिम चरणमा


३१ आश्विन २०७८, आईतवार
electricty

सर्लाही, ३१ असोज । सर्लाहीको नवलपुरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न निर्माण गरिएको सब–स्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण गरिएको हो ।

जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले करिब ४६ करोड ३६ लाखको लागतमा सबस्टेशन बनाएको हो । आर्थिक वर्ष २०७५ / ७६ देखि यसको निर्माण सुरु भएकोे थियो ।
सबस्टेसनका प्रमुख निरन्जन साहले लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न नसकिए पनि चालु आवभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए । ‘अबको एक महिनामा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले भने ।

सबस्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने साहको भनाई छ । जिल्लामा रहेका तीन सबस्टेसन ३३ / ११ केभिएका मात्र रहेका कारण सर्लाहीमा पटकपटक विद्युत अवरुद्ध हुँदै आएको छ । अब यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने विश्वास प्राधिकरणको छ ।

अहिले जिल्लामा रहेका तीन वटा सबस्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउने गरेका छन् । अब नवलपुरको सबस्टेसन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ ।

बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताए । सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङ्गल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौं अवरुद्ध हुने गरेको छ । सवस्टेशन निर्माण सम्पन्न भएपछि ढल्केवर ग्रिड शाखाबाट सेवा सञ्चालन हुनेछ । साथै हरिपुर र मलङ्गवा सबस्टेसनलाई नलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैले सेवा विस्तार गर्ने तयारी छ ।

आव २०७८ / ७९ भित्र निर्माण सम्पन्न गर्ने गरी पावाटेक वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्‍याउनका लागि सबस्टेसन निर्माणको काम गरिएको र अबको करिब एक महिनमा निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि एच.पी लामाले बताए । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ ।

नवलपुरमा रहेको सबस्टेसनमा १३२ /३३ को ६३ एमभिए र ३३ /११ को १६ एमभिएका गरी दुईवटा ट्रान्सफर्मरबाट जिल्लाको विद्युत् आपूर्ति परिपूर्ति हुने निर्माण कम्पनीले जनाएको छ । अहिले जिल्लामा ३३ / ११ केभिएका क्षमता रहेका सबस्टेसन छन् । अहिले जिल्लाको विद्युत् भार थेग्न नसकिरहेको सबस्टेसनका प्रमुख साहले बताए ।

जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेसन निर्माणको काम भइरहेकोे विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७