सुदूरपश्चिममा दशैंमा सवारी दुर्घटनामा नौं जनाको मृत्यु


३१ आश्विन २०७८, आईतवार
kc

बैतडी, ३१ असोज । असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौ जनाको ज्यान गएको छ । १७ जना गम्भीर र छ जना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् ।

दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ वटा छन् । यस्तै जीप, कार दुई, ट्याक्टर एक र बस एक छन् । चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ ।

साथै दशैंका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने जस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । उनले भने, ‘चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७