केन्द्रीय सदस्य चयनमा नेकपा (एस) मा असन्तुष्टी


३१ आश्विन २०७८, आईतवार
samajbadi.2021 09 24 09 07 50

काठमाडौं, ३१ असोज । नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनमा नेताहरुको असन्तुष्टी देखिएको छ । केन्द्रीय सदस्य चयनमा विधि र पद्धतिको कुरा गरिए पनि त्यसअनुसार नभएको भन्दै असन्तुष्टी देखिएको हो ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केन्द्रीय कमिटी गठनमा असन्तुष्टी जनाएका हुन् । उनले शनिबार फेसबुकमार्फत आक्रोश पोखेका छन् । एकीकृत समाजवादीमा सबै जनसंगठनका प्रमुखलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय भए पनि अनेरास्ववियूबाट केन्द्रीय कमिटीमा समेटिएका छैनन् । अरु जनसंगठनबाट केन्द्रीय कमिटीमा लगिएको र अनेरास्ववियूका अध्यक्षको हैसियतमा आफूलाई केन्द्रीय कमिटीमा नसमेटिएपछि उनले असन्तुष्टी जनाएका हुन् ।

त्यस्तै अनेरास्ववियूमा लामो समय योगदान दिएका व्यक्तिहरु केन्द्रीय सदस्य नबनाइएको र संगठन नै नबुझेकालाई कमिटीमा लगिएको उनले बताए । ‘जसले संगठन नै बुझेको छैन । सांगठनिक संरचना विधि पद्धति नै बुझेको छैन त्यस्ता व्यक्तिलाई केन्द्रीय कमिटीमा छनोट गरियो’, पराजुलीले भने, ‘अनेरास्ववियूमा रहेर लामो समय योगदान गरेको पनि कमिटीमा समेटिएको छैन । संगठन नै नबुझेकालाई लगेर विधि, पद्धति मिच्न मिल्दैन ।’

त्यस्तै हालै जीवन राई नेतृत्वको नेकपा एकीकृत नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । निर्वाचन आयोगमा पठाइएको पत्रमा राईलाई केन्द्रीय सदस्य बनाइएको छ । तर, पार्टीको जिम्मेवारीमा भने उनलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको एक नेताले जिकिर गरे । सो विषयमा राईलगायत नेताहरु असन्तुष्ट भएको स्रोतको दाबी छ । तर, राईले भने पार्टीमा आफ्नो जिम्मेवारी बाँडफाँड हुन बाँकी नै रहेको भन्दै आफू केन्द्रीय सदस्य भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७