श्रम मन्त्री श्रेष्ठको नयाँ सुरुवात, आफ्नै मन्त्रालयका श्रमिकबाट लिए सुझाव


३१ आश्विन २०७८, आईतवार
Kishan

काठमाडौं, ३१ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नै मन्त्रालयका तल्लास्तरका श्रमिकहरुबाट सुझाव लिएर मन्त्रालयको कामको सुरुवात गरेका छन् । मन्त्री श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कार्यालय सहयोगी, सफाई कर्मचारी र चालकहरुको समस्या बुझ्दै सुझाव लिएका हुन् ।

दशैं लगत्तै आइतबार मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकहरुको समस्या बुझेका हुन् । मन्त्रालयका श्रमिकहरुले आफूहरुको महङ्गी भत्ता काटिएको, तलब थोरै भएको लगायतका गुनासो राखेका थिए ।

मन्त्री श्रेष्ठले समस्या सुने लगत्तै आफूहरु श्रमजीवीहरुको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्दै आफ्नो पहिलो प्राथमिकता तल्लोतहका श्रमिकहरुको हकहितको पक्षमा हुने बताए । मन्त्री श्रेष्ठले तत्काल मन्त्रालयका श्रमिकहरुको समस्या सम्बोधन गर्ने बताए ।

मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी नै श्रम गर्ने श्रमिकहरुको हकहित, रोजगार सृजना र रोजगारीमा रहेका श्रमिहरुको सामाजिक सुरक्षाको निम्ती काम गर्ने भएको कारण पहिलो सुझाव श्रमिकबाट लिएको बताए । उनले भने, ‘मेरो पहिलो जिम्मेवारी र दायित्व पसिना बगाएर बाँचिरहेका श्रमिकहरुको हितको निम्ती काम गर्ने हो । मेरो मन्त्रालयको श्रमिकहरुको समस्या सुनेँ । यसैगरी समस्या बुझेर हरेक ठाउँमा काम गर्ने श्रमिकहरुको जीन्दगीमा फेरबदल आउने गरी काम गर्छु ।’

मन्त्री श्रेष्ठले बेरोजगार युवाहरुलाई उत्पादनसँग जोडेर रोजगारी दिने, बिभिन्न उद्योग प्रतिष्ठानहरुमा रोजगारी गरीरहेकाहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी र सरकारी कार्यालयहरुमा श्रम गरीरहेकाहरुको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तत्काल कदम चाल्ने समेत बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७