तीन प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सजग रहन आग्रह


१ कार्तिक २०७८, सोमबार
raining

काठमाडौं, १ कातिक । नेपालको मौसम थप केहि दिन प्रभावित हुने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो ।

आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश–१ (मंगलबारदेखि) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा मेघगर्जन / चट्याङ्ग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासी बताउँछिन् । ‘काठमाडौंमा आज दिनभर मौसम बदली हुन्छ । बदली भएर दिउँसो पानी पर्ने सम्भावना छ’, उनले भनिन्, ‘भारी वर्षाको सम्भावना त काठमाडौंमा छैन तर काठमाडौंमा घाम लाग्ने सम्भावना आज कमै छ ।’

बुधबार प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघगर्जन / चट्याङ्ग र हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको पनि सम्भावना रहेको छ । त्यसैले सजग रहन विभागले आग्रह गरेको छ । विशेषतः यात्रा र कृषि कर्म गर्दा मौसमको सूचना हेरी सजग रहन विभागले आग्रह गरेको छ । मनसुन बाहिरिए पनि नयाँ मौसम प्रणाली विकास भएका कारण पुनः वर्षा र हिमपातको सम्भावना रहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७