त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्रीको आकस्मिक छड्के, अलपत्र यात्रुको उद्धार


१ कार्तिक २०७८, सोमबार
Premale airport 1

काठमाडौं, १ कातिक । सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक छड्के अनुगमन गरेका छन् ।

हिजो (आइतबार) भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको विमानले आधा यात्रु लगेर आधा विमानस्थलमै छाडेर हिंडेपछि मन्त्री आलेले आकस्मिक छड्के जाँच गरेका हुन् । मन्त्री आलेकै पहलमा छुटेका बालबच्चासहितका ७ यात्रुलाई आज विहानको उडानबाट भोजपुर पठाइएको छ ।

नेपालय एयरलाइन्सको लापरवाहीका कारण यात्रुहरु छुट्न गएको प्रारम्भिक अनुगमनमा देखिएको बताउँदै मन्त्री आलेले सम्बन्धित निकायलाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । मन्त्री आलेले अनुगमनका क्रममा विमान छुटेर अलपत्र परेका यात्रु तथा विमानस्थलका कर्मचारीहरुसँग डोमेस्टिकको टर्मिनलभित्रै छलफल गरेका थिए ।

अनुगमनपछि मन्त्री आलेले भने, ‘विमानस्थलमा धेरै कमी कमजोरी देखें । ट्याक्सीमा जथाभावी भाडा लिने, कफी सपमा महँगो मूल्य असुल्ने गरेको देखिएको छ । यसलाई नियमन गर्नुपर्दछ । भोजपुर उडेको विमानले आधा यात्रु छोडेर लापरवाही गरेको देखियो । गल्ती गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छु । राष्ट्रिय ध्वजावाहकको सेवा उत्कृष्ट हुनुपर्छ ।’

मन्त्री आलेले आफूले मन्त्रालय सम्हाल्ने वित्तिकै पहिलो निर्णय नै नेपाल एयरलाइन्स सुधारका लागि अनलाइन टिकट काट्ने व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिदै भने, ‘म मन्त्री भएसम्म नियमित अनुगमन गर्छु र सुधारको प्रयास गर्छु । अनलाइन टिकट सेवा सजिलो र सस्तो हुन सक्छ । विमानस्थलमा विकृति र फोहोर छ । यसलाई सुधार गर्नेछु ।’ मन्त्री आलेले साँघुरो विमानस्थलको विकल्पमा विमानहरु क्षेत्रीय विमानस्थलमा पार्किङ गर्ने तयारीमा समेत सरकार लागेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७