छात्राहरु अब छिटै विद्यालय फर्किन्छन् : तालिबान


१ कार्तिक २०७८, सोमबार
taliban 1month Zcy4NaQVHY

काठमाडौं, १ कातिक । अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले अब छिटै नै छात्राहरु पनि विद्यालय जान सक्ने बताएको छ ।
तालिबानको गृह मन्त्रालयका प्रवक्ता सइद खोस्टीले आइतबार छात्राहरु विद्यालय फर्किने निश्चित मिति भने शिक्षा मन्त्रालयले तोक्ने बताएका छन् । ‘मेरो बुझाइ र सूचनाअनुसार अब निकै कम समयमा सबै युनिभर्सिटी र विद्यालय खुल्ने छन् र महिला तथा बालिका विद्यालय फर्किने छन्’, अलजाजिरासँगको कुराकानीमा उनले भने ।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले किशोरीहरुलाई विद्यालयमा सुरक्षित वातावरण नबन्दासम्म घरमै बस्न निर्देशन दिएको थियो। तर, छात्रहरुलाई भने विद्यालय फर्किने अनुमति दिइसकेको छ ।

छात्रालाई विद्यालय फर्किने अनुमति नदिएसँगै तालिबानले यसपटक पनि सन् १९९० को दशकको झल्को दिने गरी कट्टरपन्थी शासन चलाउने आशंका बढेको थियो । तालिबानले यसअघिको शासनकालमा महिला र बालिकालाई कानुनीरुपमा शिक्षा र रोजगारीबाट टाढा राख्ने निर्णय गरेको थियो ।

गत अगष्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले महिला र बालिकाको अधिकारको रक्षा गर्ने बताएको थियो । तर, त्यसयता उसले चालेको कदमले भने अन्तर्राष्ट्रिय समुदायमा तालिबानप्रतिको चिन्ता बढाएको छ । तालिबानले बनाएको सरकारमा पनि सबै पुरुष छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अक्टोबरको सुरुमा तालिबानले महिला र बालिकाको मानव अधिकार र मानवीय कानुनको वाचा पूरा नगरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले महिला तथा बालिकालाई शिक्षाबाट वञ्चित गर्नु इस्लामिक नियम नरहेको बताएका छन् । उनले महिलालाई शिक्षा दिने वा नदिने भन्ने विषयसँग धर्मको केही पनि लिनुदिनु नरहेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७