पाकिस्तानी महिलाले जन्म दिइन् एकैपल्ट सात सन्तानलाई


१ कार्तिक २०७८, सोमबार
five babbbyyy 6sOcN6Q490

काठमाडौं, १ कातिक । पाकिस्तानको पख्तुनख्वाको एबटावाद सहरमा एक महिलाले एकै पटक सात बच्चा जन्माएकी छिन् । बीबीसीका अनुसार ऐबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले एकै पटक चार छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।

अस्पतालले दिएको जानकारीअनुसार सबै बच्चा र आमाको अवस्था स्थिर छ । पिता बनेका यार मोहम्मदले सात सन्तान एकै पटक प्राप्त भएकोमा खुशी व्यक्त गरे । यसअघि नै उनका दुई छोरी छन् ।

उनी भन्छन्, ‘यी सन्तानको पालनपोषण गर्न मलाई गाह्रो छैन किनकी म एक संयुक्त परिवारमा बस्छु र यहाँ परिवारका सबै सदस्यले मेरो सहयोग गर्नेछन् ।’ अस्पतालकी डाक्टर हिना फेयाजका अनुसार जाँचबाट महिलाको पेटमा कम्तीमा पाँच बच्चा रहेको थाहा भएको थियो । साथै महिलाको रक्तचाप पनि उच्च थियो । यस्तोमा शल्यक्रियाबाटै बच्चा जन्माउनु उचित हुन्थ्यो । उनकाअनुसार शल्यक्रिया करिब एक घण्टासम्म चलेको थियो ।

उनका अनुसार सात बच्चा र आमा सुरक्षित र स्वस्थ हुने घटना भने निकै कम हुन्छ । अहिले सात वटै बच्चालाई नर्सरीमा र आमालाई आईसीयू वार्डमा सारिएको छ । समय हुनुभन्दा पहिला नै बच्चालाई निकालिएकाले अब केही दिन उनीहरुलाई नर्सरीमा राख्नुपर्ने हुन सक्ने डाक्टरहरुले बताएका छन् ।

डाक्टर फेयाजकाअनुसार महिलाले गर्भाधारण हुने औषधि लिएकी थिइन् । त्यसैले एकभन्दा धेरै बच्चा बसेका हुन् । उनले यस्ता औषधि खाँदा विशेषज्ञ डाक्टरको परामर्श अनिवार्य लिन सुझाएकी छिन् । एकभन्दा धेरै बच्चा बस्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७